नेपालमा सञ्चालनमा रहेका राइड सेयरिङ कम्पनीहरूले मनपरी भाडा निर्धारण गरेको र राइडरहरूको श्रम शोषण गरेको भन्दै स्वतन्त्र चालक फाउन्डेसनले सोमबार माइतीघरमा प्रदर्शन गरेको छ । लामो समयदेखि सम्बन्धित निकाय र कम्पनीहरूसँग संवादको प्रयास गर्दा पनि आफ्ना समस्यालाई बेवास्ता गरिएपछि बाध्य भएर सडकमा उत्रिनुपरेको उनीहरूको गुनासो छ। पेट्रोलको मूल्य बढेसँगै भाडा समायोजन गर्नु पर्ने जस्ता माग राखेर माइतीघरमा मोटरसाइकलसहित भेला भएर उनीहरूले मोटरसाइकल र्याली गर्दै सहरका विभिन्न स्थान परिक्रमा गरेका छन् । उनीहरूले बीमा राम्रोसँग लागू गर्नु पर्ने, कम्पनीले कमिसन घटाउनु पर्ने लगायतका माग पनि अघि सारेका छन् । समूहले उठाएका मागहरू पूरा नभए राइड सेयरिङ सेवा नै पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएको छ। राइडरहरूको धैर्यतालाई कमजोरी नलिन चेतावनी दिँदै उनीहरूले यो आन्दोलनलाई देशव्यापी बनाउने उद्घोष गरेका छन्।












