निर्वासित तिब्बती आध्यात्मिक नेता दलाई लामाले ९० औं जन्मदिन धर्मशालास्थित मुख्य मठमा हजारौं निर्वासित तिब्बती अनुयायीहरूका बिच प्रार्थना गर्दै मनाएका छन्। लामाको जन्मदिनको उपलक्ष्यमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई “माया र करुणाका प्रतीक” भन्दै बधाई दिएका छन्। उनले ३०–४० वर्ष अझै जीवित रही सेवा गर्ने आकांक्षा व्यक्त गरेका छन्। तर, उत्तराधिकारी चयनबारे दिएको अभिव्यक्तिले भारत–चीन सम्बन्धमा नयाँ चासो थपेको छ। दलाई लामाले आफ्नो पुनर्जन्म स्वतन्त्र मुलुकमै हुने बताएका छन् भने चीनले पुनर्जन्ममा अधिकार बीजिङसँग मात्र रहेको दोहोर्याएको छ। भारतले यसमा धार्मिक स्वतन्त्रताको पक्षमा उभिँदै चीनको दाबीलाई प्रत्यक्ष नकारेको छ। वरिष्ठ भारतीय मन्त्री किरन रिजिजुले दलाई लामाको उत्तराधिकारी उनी स्वयंले चयन गर्न पाउनुपर्ने बताएपछि चीनले भारतलाई “भित्री मामिलामा हस्तक्षेप नगर्न” चेतावनी दिएको छ।












