२३ जेठ २०८२, देवघाट तनहुँ ।
बहुचर्चित पदयात्रा सुरु भएको छ । कालीगन्डकी नदी तथा कालीगन्डकी सभ्यताको संरक्षण र प्रचारको लागि विहिबारदेखी सुरु भएको कालिगन्डकी पदयात्राको टोली पहिलो दिन नवलपुरको भोक्रेनी पुगेको छ । उक्त टोली २० किलोमिटरको यात्रा गर्दै भोक्रेनी पुगेको हो । टोलीलाई विभिन्न स्थानमा स्थानीय बासिन्दाहरुले भव्य स्वागत गरेका छन ।

पदयात्रा देवघाटमा रहेको त्रिशुली र कालीगन्डकी नदीको संगम वेणीघाट बाट विहिबार विहान ७.३० बजे सुरु भएको थियो । देवघाटस्थित महेश सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी मधुसुदनानन्द गिरी, महेश सन्यास आश्रमका पिठाधिस श्री १००८ स्वामी रमणानन्द गिरी र नेपाल सन्त समाजका महासचिव प्रा.डा. गुरुप्रसाद सुवेदीलगायतले गण्डकी पूजा गरी यात्राको शुभारम्भ गरेका थिए । दामोदर हिमशृङ्खलाबाट प्रवाहित भएको पवित्र हिमनदी कालीगन्डकी नदी र कालीगन्डकी सभ्यताको संरक्षणकोको लागि महेश सन्यास आश्रम देवघाटको समन्वयमा विहिबारबाट ४३१ किलोमिटर दुरीको कालीगन्डकी पदयात्रा सुरु गरिएको पदयात्राका संयोजक तथा देवघाट स्थित महेश संस्कृत गुरुकुलका प्राचार्य फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

पदयात्रा अन्तर्गत बुधबार साँझ वेणी संगममा गन्डकी पुजन र विशेष आरती गरिएको थियो । उक्त पुजनमा गलेश्वर आश्रमका पिठाधिस महामन्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरि, हरिहर आश्रमका पिठाधिस एवं नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती, महेश सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी मधुसुदनान्द गिरी, महेश सन्यास आश्रमका पिठाधिस डा.रमणानन्द गिरि लगायत सन्त महन्तहरुको उपस्थिति थियो ।
यात्रा दैनिक आठ घण्टा तथा २० किलोमिटरसम्म गरिने जनाइएको छ । नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा गुरुप्रसाद सुवेदीले कालीगण्डकीको महिमा जनमानसमा पुर्याउने यात्राको उद्देश्य रहेको बताए । गण्डकीको किनारमा भएका विभिन्न धार्मिक साँस्कृतिक स्थलहरुको संरक्षण एवं प्रवर्द्धनमा यात्राले सहयोग पुग्ने उनको भनाई छ । जीवन जिउने आधार प्राकृतिक स्रोत सम्पदा भएको उल्लेख गर्दै नदीलगायतको संरक्षणमा सबै जुट्नुपर्ने उनले स्पष्ट पारे ।
उक्त पदयात्रामा कालीगण्डकीको महत्व र उपयोगिताको प्रचार–प्रसार गरिने, शालग्राम र गण्डकीतीर्थहरूको दर्शन पूजन, कालीगण्डकी सभ्यताको संरक्षण, धार्मिक एवं प्राकृतिक पर्यटनको प्रवद्र्धन तथा आध्यात्मिक साधनाको निरन्तरता मुख्य उद्देश्य हुनेछ ।

कालीगन्डकी नदी संसारभरका सनातनीहरूको आस्थाको केन्द्र र देवनदीका रूपमा बिश्वप्रसिद्ध छ । यिनै नदीमा उत्पन्न भएका दुर्लभ शालग्राम विश्वभरका हिन्दु सनातनीहरूले भगवान बिष्णुको प्रतिकका रुपमा प्रत्यक्ष रूपमा पूजा गर्दछन । गण्डकी नदि किनारमा दामोदर कुण्ड÷मुक्तिनाथदेखि हरिहरक्षेत्र देवघाटधामसम्म अनेकौँ तीर्थहरू रहेका छन् । ती ऊर्जामय गण्डकी तीर्थहरूमा अनादिकालदेखि ऋषि–महर्षि र तपस्वीहरूले साधना गरेर जीवन सफल बनाएका प्रशस्त धार्मिक ग्रन्थहरुको रचना गरेका ऐतिहासिक तथ्यहरू लोकप्रसिद्ध रहेका छन् ।











