११ फाग्ज्न २०८१, काठमाडौ ।
अन्तर्राष्ट्रिय परिस्थितिको असर नेपालमा पनि पर्नसक्ने भन्दै नेपाली सेनाले नयाँ रणनीति र समन्वय प्रणालीलाई समयानुकूल बनाउनुपर्ने निष्कर्ष निकालेको छ । बिहीबार र शुक्रवार आयोजित पृतनापति समन्वयात्मक बैठकबाट सो निष्कर्ष निकालिएको सैनिक अधिकारीहरूले बताए । रुस युक्रेन युद्ध र अमेरिकाको पछिल्लो कदमको असर बिश्वभर पर्न सक्ने भन्दै सेनाले नयाँ रणनीति बनाउने भएको हो ।

फागुन ८ मा पृतनापति समन्वयात्मक बैठक उद्घाटन गर्दै रक्षामन्त्री मानवीर राईले पनि विश्वको विभिन्न स्थानमा चलिरहेको द्वन्द्वले नेपालमा पनि कुनै न कुनै रूपमा प्रभाव पार्ने धारणा राखे । उनले भने , ‘जलवायु परिवर्तन र कृत्रिम बौद्धिकताले निम्त्याउन सक्ने चुनौतीहरूलाई सूक्ष्म रूपमा अध्ययन गर्नुपर्ने अहिलेको अवस्था हो ।’
पृतनापति समन्वयात्मक बैठकपछि सेनाले पत्रकार सम्मेलन गरेर अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । आइतबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका उपरथी प्रेमध्वज अधिकारीले भू–राजनीतिको असर नेपालमा पनि पर्ने र परिरहेको बताए ।
बैठकमा सैनिक विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरू तथा पृतनापतिहरू सहभागी थिए । बैठकमा सिपाहीका समस्या र तालिममा गर्नुपर्ने सुधार लगायतका विषयमा पनि छलफल भएको सैनिक प्रवक्ता केसीले बताए ।











