
अन्जनराज न्यौपाने, काठमाडौ ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुटेका छन् । ओली पार्टीको बैठक सकेलगत्तै मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यमा लागेका हुन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली बिहीबार दिनभर सार्वजनिक कार्यक्रममा समेत सहभागी भएनन् । उनी लगातारको एमाले केन्द्रीय कमिटी बैठक र त्यसअघि विभिन्न कार्यक्रममा व्यस्त रहेका थिए । बिहीबार सार्वजनिक कार्यक्रममा सहभागी नभएर बालुवाटारमै आन्तरिक अध्ययनमा प्रधानमन्त्री जुटेका हुन् ।
‘पार्टी बैठक पनि सकियो, समयको चाप खासै छैन’, बालुवाटार स्रोतले भन्यो, ‘मन्त्री नियुक्त गर्दा एक वर्षका लागि भनिएकाले त्यो समय पनि पूरा भयो, अब हेरफेर गर्ने गरी आन्तरिक अध्ययन गरिरहनुभएको छ ।’ तर प्रधानमन्त्री ओलीले मन्त्रीहरूको हेरफेरबारे सत्ता साझेदार दल नेपाली कांग्रेससँग औपचारिक छलफल भने गरिसकेका छैनन् । ‘अनौपचारिक कुराकानी त भएको हुनुपर्छ तर औपचारिक रूपमा कांग्रेससँग पनि छलफल भइसकेको जस्तो लाग्दैन,’ बालुवाटार स्रोत भन्छ, ‘अब छिट्टै हुन्छ ।
नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा पार्टीका तर्फबाट बनेका मन्त्रीहरू परिवर्तन गर्ने कुनै योजना नरहेको बताउँछन् । ‘अहिलेसम्मलाई यसबारे कुनै कुराकानी भएको छैन,’ विश्वकर्माले भने ।
त्यसो त कांग्रेसले पनि चाँडै निर्णय देओस् भन्ने पक्षमा प्रधानमन्त्री छन् । यदि कांग्रेसले आफ्ना पार्टीका मन्त्रीहरू फेर्ने नफेर्ने निर्णय चाँडै दिए आफू सोहीअनुसार निर्णयमा पुग्ने ओलीको तयारी छ । त्यसैले नेपाली काङ्ग्रेसले पनि शुक्रबार देउवा निवासमा पदाधिकारी बैठक बोलाइ सकेका छन ।
‘नेपाली कांग्रेसले के गर्छ त्यो उसको निर्णय हो । उसले नफेरे पनि एमालेतर्फका केही मन्त्रीहरू परिवर्तन हुन्छन्,’ ओलीनिकट स्रोत भन्छ, ‘पर्फमेन्सका आधारमा केहीले निरन्तरता पनि पाउन सक्ने अवस्था छ ।’ एमालेभित्र काम गर्न नसक्ने र विवादमा तानिएका मन्त्रीहरूलाई तत्काल फिर्ता बोलाउनुपर्ने मत छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम पार्टीका तर्फबाट मन्त्री परिवर्तन गर्ने नगर्ने सबै अधिकार अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीमा रहेको बताउँछन् ।










