सोलुखुम्बु ।
आज साउन महिनाको पहिलो सोमवार देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ । दर्शनार्थीको सुविधाका लागि पशुपतिनाथ मन्दिरको चारवटै ढोका बिहानै खोलिएको छ भनी हलेसी , कुशेश्वर , सन्तानेश्वर महादेव सहित देशभरका शिवालयहरुमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । यस्तै पशुपतिनाथ दर्शन गर्ने भक्तजनलाई निःशुल्क बससेवा शुरु गरिएको छ । चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसमध्ये दुईवटा बस गीता प्रेसको नेपालमा रहेको बुक डिपोले व्यवस्था गरेको र दुईवटा बस यातायात व्यवसायि राष्ट्रिय महासङ्घले गरेको हो ।


पशुपतिनाथ दर्शनमा आउने भक्तजनका लागि निःशुल्क बस सेवा दिइएको यो पहिलोपटक हो । मूल मन्दिरमा भीड नहुने गरी साउने सोमवारको दर्शनको व्यवस्था मिलाइएको कोषले जनाएको छ । भक्तजनलाई लाइनमा बसेको एक घण्टामा दर्शन गरेर फर्कन सक्नेगरी व्यवस्था मिलाइएको कोषको दाबी छ ।
नेपाली सेनाको कल्याणकारी कोषले घामपानीबाट बच्न मूल मन्दिर बाहिरको भागमा ‘टेन्ट’ को व्यवस्था गरेको छ । पशुपतिसहित देशभरका प्रमुख शिवालयहरूमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

साउन महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ । यो महिना विशेषतः महिलाहरू हरियो सारी , चुरा र मेहन्दी सहित शिव पूजामा सहभागी हुने हिन्दु परम्परा रहि आएको छ ।











