युगिन राई।
नेपाली काङ्ग्रेस रामेछापका सभापति तथा सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)ले प्रतिनिधिसभा बैठकमा संसद्को आगामी कार्यकालमा प्रकाशमान सिंहलाई देख्न नपरोस् भन्दै बोलेको विषय नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सदस्यहरुले उठाएका छन । तामाङले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधान तथा शहरी विकासमन्त्री रहेका सिंहले आफ्नो जिल्लामा बजेट नहालेको भन्दै बजेटसम्बन्धी छलफलमा आगामी संसद्मा उनलाई देख्न नपरोस् भन्दै प्रार्थना गर्दै भगवान भाकेका थिए ।


उक्त विषय कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा उठाउँदै प्रतिनिधिसभा सदस्यसमेत रहेकी केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले पार्टीको अनुशासन र मर्यादा कहाँ गयो भन्दै प्रश्न गरेकी छन् । तामाङको नाम नलिइ न्यौपानेले बैठकमा भनिन्, ‘प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा अब सहरी विकासमन्त्री र अर्थमन्त्री संसद्काे आगामी कार्यकालमा देख्न नपरोस् भनेर हाम्रै पार्टीका सांसद्ले भन्नुभयो । हामी पार्टीको सांसद् हौँ कि स्वतन्त्र सांसद हौँ । हाम्रो पार्टीको अनुशासन र मर्यादा कहाँ गयो ।’ उनले कांग्रेसले कांग्रेसलाई चिया पसलमा बसेर जथाभाबी गाली गरिरहेको भन्दै यस्तो अवस्था आउन नदिने वातावरण निर्माण गर्न सभापति शेरबहादुर देउवा र शीर्ष नेतालाई आग्रह गरिन् । गल्ती नगरेका नेतालाई पनि चिया पसलमा बसेर गाली गरिएको भन्दै उनले आपत्ति जनाइन् । ‘गरेका गल्तीलाई गाली गर्नु त ठिकै हो, नगरेको गल्तीलाई चिया पसलमा बसेर गाली गर्ने काम भइरहेको छ । यस्तो अवस्थाबाट हामी कहाँ पुग्छौँ,’ न्यौपानेले प्रश्न गरिन।











