९ जेठ २०८२, काठमाडौं ।

राजावादी समूहले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्नविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दर्ताको तयारी गरेको छ । प्रहरीले अनुसन्धान सकेर बिहीबार प्रतिवेदन बुझाए लगत्तै सरकारी वकिलको कार्यालय आजै अभियोजनको तयारीमा जुटेको हो । प्रमाणहरुको थप विश्लेषण भइरहेकाले भ्याएसम्म आज मुद्दा दर्ता गर्ने नत्र आईतबार दर्ता गर्ने तयारीमा कार्यालय जुटेको हो ।

संगठित अपराधको मुद्दामा अनुसन्धान गर्न पाउने ६० दिनको समय सकिन लागेकाले मुद्दा दर्ता प्रक्रिया अघि बढने भएको हो । प्रहरीले अनुसन्धान प्रतिवेदनमा ६१ जनाभन्दा बढीलाई मुद्दा चलाउन सिफारिस गरेको छ । दुर्गा प्रसाईंविरुद्ध कर्तव्य ज्यान, संगठित अपराध, राज्यविरुद्धको कसुर लगायत मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ ।

त्यस्तै, रविन्द्र मिश्र र धवलशमशेर राणाविरुद्ध संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा अभियोग लगाउने तयारी छ । घटनामा संलग्न रहेको आरोपमा एक सयभन्दा धेरै पक्राउ परेकोमा ५३ जना प्रहरी हिरासतमा रहेका छन । अरु हाजिरी जमानीमा रिहा भएका छन । चैत १५ को तीनकुनेमा राजा फर्काउन भन्दै भएको प्रदर्शनमा एभिन्युजकर्मी सुरेश रजक र कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो । प्रहरीका अनुसार ५६ करोड रुपैयाँभन्दा धेरैको क्षती भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय