काठमाडौ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका ‘संयुक्त जनआन्दोलन परिचालन समितिका सदस्य सचिव रवीन्द्र मिश्र र समितिले तोकेका ‘जनकमान्डर’ दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौले अनुमति दिएको छ। मिश्र र प्रसाईं सहित २५ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले मंगलबार अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

मिश्र ४६ दिनदेखि प्रहरी हिरासतमा छन्। उनी गत चैत १५ गते बेलुका ग्वार्को बाट बिरामी हेर्दै गर्दा पक्राउ परेका थिए। ‘ संयुक्त जनआन्दोलन समितिले तोकेका ‘जनकमान्डर’ दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शन भएको थियो। उक्त प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको मृत्यु भएको थियो भने निजी घर, सरकारी गाडी, पार्टी कार्यालय र जडिबुटी प्रशोधन केन्द्रमा आगजनी समेत भएको थियो।

प्रसाईंले गरेको उक्त कार्यक्रमलाई राप्रपा र ‘संयुक्त जनआन्दोलन समिति’ ले पनि समर्थन जनाएका थिए। प्रसाईं चैत २९ गते पक्राउ परेका थिए। सो घटनामा राज्यको तर्फबाट घुसपैठ र अत्यधिक बल प्रयोग भएको भन्दै राप्रपा लगायतका राजावादी संघसंस्थाले निष्पक्ष छानबिन आयोग गठनको माग गरिरहे पनि सरकारले खासै चासो देखाएको छैन । सो घटनामा राज्यले आस्थाका आधारमा बन्दी बनाएको भन्दै राप्रपाले हिरासतमा रहेका उपाध्यक्ष मिश्र सहित सबैको कानुनी उपचारको सबै खर्च व्यहोर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय