१७ वैशाख २०८२, काठमाडौ।

नेपाल शिक्षक महासङ्घ र सरकारबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको भनिए पनि अझै सहमति जुटेको छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राति अबेरसम्म भएको दुईपक्षीय बैठकले मन्त्रिपरिषद्बाट निर्णय गरी आउँदो बजेटमा शिक्षकका माग सम्बोधन गर्ने गरी सहमतिको प्रारम्भिक खाका तयार गरेको छ । हिजोको छलफलमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री रघुजी पन्त, शिक्षा सचिव दीपक काफ्ले, वार्ता संयोजक कृष्णप्रसाद काप्री लगायतको सहभागी थियो ।

शिक्षक महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महासचिव तुल थापा, सहअध्यक्ष नानुमाया पराजुली लगायत सहभागी भएका छन्  । सोमबार भएको बैठकमा पूर्व शिक्षामन्त्री विद्या भट्टराईले तयार पारेको सात बुँदामा छलफल भएको थियो । त्यसमा थप दुई वटा थपेर नौ बुँदा बनाइ गएराति छलफल भएको र अब यसलाई अन्तिम रुप दिने तयारी गरिएको बताइएको छ।

शिक्षक महासङ्घले गएको चैत २० गतेदेखि गर्दै आएको आन्दोलनको आज २९ दिन भइसकेको छ । महासङ्घका प्रदेश र जिल्ला अध्यक्षसँग सहमति लिएर मात्र सहमतिमा हस्ताक्षर गर्ने र आन्दोलन स्थगन गर्ने महासङ्घका उपमहासचिव रामप्रसाद ढकालको भनाइ छ । शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र–२०८२ को शुरूदेखि नै पठनपाठनमा प्रभाव परेको छ । यता कक्षा १२ को परीक्षा प्रभावित हुँदा एसईईको नतिजा सार्वजनिक गर्ने तालिका समेत प्रभावित बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय