११ चैत्र २०८१, काठमाडौ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता तय भएको छ । नेतात्रयबीच सोमबार दिउँसो बालुवाटारमा भेटवार्ता तय भएको हो । जनतासँग माओवादी, तराई–मधेश जागरण अभियानअन्तर्गत केही समयदेखि उपत्यका बाहिर रहेका प्रचण्ड काठमाडौं आएसँगै भेटवार्ता तय भएको हो ।

शीर्ष नेताहरुबीचको भेटवार्तामा समसामयिक राजनीति, पछिल्लो समय विकसित भएरहेका प्रतिगामी हर्कत, बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्ति लगायतका विषयमा छलफल कार्यसूची रहेको छ । तीन शीर्ष नेताहरुको छलफलमा राष्ट्रिय सहमतिको सरकार बनाउनेबारे पनि छलफल हुनसक्ने सम्भावना रहेको छ । राजावादीहरुको पछिल्लो गतिविधिले गणतन्त्रवादी शक्तिहरुलाई एक ठाउँमा आउनै पर्ने वाध्यता खडा गरेको हो । केहीदिन अगाडि प्रधानमन्त्री ओलीले संसदमा प्रतिपक्षी दलको नेता लाई भेट्न खोज्दा नसकेको बताएका थिए ।











