८ चैत्र २०८१ , काठमाडौं ।
फागुन ६ गते पूर्वराजाको संदेश आएपछि राजनीतिक बजारमा फेरि राजावादी आन्दोलनको चर्चा सुरु भएको छ । आन्दोलनको चर्चाले केही राजनीतिक पसले र तिनका ग्राहकहरु केहीहदसम्म उत्साहित पनि छन् तर पसलेहरुको आन्तरिक द्वन्द्व भने उदेकलाग्दो अवस्थामा अघि बढ्दैछ । फागुनको अन्तिम साता पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौंमा गरिएको र्‍यालीपछि हौसिएको राजावादी आन्दोलन आपसी मतभेद र जुंगाको लडाईंले आफै थिलथिलो बन्ने जोखिमतर्फ अगाडी बढदै छ ।

 

पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न पुगेकामध्ये एक दुर्गा प्रसाईंले बुधबार एउटा कार्यक्रम गरी राजावादी आन्दोलनको असली नायक आफू भएको घोषणा गरे । उनले आफ्नो बखान मात्र गरेन्न खासमा राजतन्त्र स्थापनाको एजेण्डा नै बोकेर राजनीति गरिरहेका दलहरु राजावादी नभएको जिकिर गरे । उनले प्रमुख राजावादी दल राप्रपा र राप्रपा नेपालले बीचमा राजनीति खेलेको आरोप लगाए। त्यसको एक दिनअगाडि बसेको राप्रपाको बैठकले राजतन्त्र पुनर्स्थापना एजेण्डाको प्रतिलिपि अधिकार अरु कुनै समूहको नभई आफ्नो भएको निश्कर्ष निकाल्यो । अनि आन्दोलनको नेतृत्व चाँहि आफ्नै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गर्ने निर्णय गर्दै फागुन १२ गते मूल आन्दोलन परिचालन समितिको बैठक बोलायो ।

लिङ्देनको पार्टीले राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डा नै बोकेर निर्वाचन लड्दै आएको छ भने संघीय संसदमा यो पार्टीका १४ सांसद छन् । त्यसो त प्रदेशसभाहरुमा पनि यो पार्टीले प्रतिनिधित्व गरिरहेको छ । उता कमल थापा नेतृत्वको राप्रपा नेपाल पार्टीको एजेण्डा पनि योसँग मेल खाने खालकै छ । राप्रपाको अध्यक्ष पदमा हारेर राप्रपा नेपाल व्युँत्याउँदा कमल थापाले राजा नबोक्ने घोषणा गरे पनि अन्ततः उनी राजतन्त्रको पुरानै मागमा फर्किनु लाई सामान्य नै मानिएको छ । यतिबेला अचानक नवराज सुवेदीको नेतृत्वमा राजा फर्काउने अभियान नै घोषणा भएको छ । यी चारवटा संयोगभित्र यति ठूलो असंगति छ कि राजा फर्काउन सडकमा आउन चाहनेहरु अब कसलाई समर्थन गर्ने भन्ने अन्योलमा पर्ने अवस्था सिर्जना भएको छ ।

 

अर्थात्, लिङ्देन, थापा, सुवेदीदेखि प्रसाईंसम्ममा देखिएको जुँगाको लडाईंले राजावादी आन्दोलन बरमझियाको पेडा पसल जस्तो बनेको छ । बुढो बाजेको पसलले आन्दोलन हाँक्ने हो कि, असली बुढो बाजेको पसलले पो आन्दोलनको नेतृत्व गर्ने हो त्यसले ग्राहकहरु अलमलमा छन् । तर महत्वपूर्ण कुरा त के छन् भने यी थरीथरी नामधारी बाजेहरुले पेडा चाँहि बनाउँछन् कि आपसी द्वन्द्वले अहिलेकै समर्थन् गुमाउँछन् भन्ने आशंका छ । एक त यो आन्दोलनका लागि भन्दै जुन समिति बनेको छ त्यसप्रति धेरै सदस्यहरुकै चरम असन्तुष्टि छ । नेतृत्व पाएका नवराज सुवेदी बाहेक समितिमा नाम समावेश गरिएका सबैजसो असन्तुष्ट छन् । आफ्नै सक्रियतामा सुवेदीलाई आन्दोलनको नेतृत्वमा पु¥याएको दाबी गरिरहेका प्रसाईंले थरीथरी कार्यक्रममा थरीथरी भनाइ राख्दा झन अन्योल थपेको छ । यसले राजावादी आन्दोलन सुरु नहुँदै फासफुस हुने हो कि भन्ने टिप्पणी राजनीति वृत्तमा हुन थालेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय