२१ फागुन २०८१, काठमाडौ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि गैरकानुनी रूपले अमेरिका बसेका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं आउने भएको छ। अध्यागमन कानुन उल्लंघन गर्ने केही नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज बुधबार विहान १० बजे काठमाडौंमा आउन लागेको हो। निष्कासित भएकाहरू मध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला प्रहरीले पक्राउ गरेको थियो । अवैध आप्रवासी नेपालीहरूलाई लिएर पहिलोपटक चार्टर जहाज काठमाडौं आउन लागेको हो।

यसअघि अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसीई)ले अवैध नेपालीहरूलाई विभिन्न एरयलायन्सबाट नेपाल फर्काउने गरेको थियो। स्रोतका अनुसार चार्टर जहाजमार्फत नेपाल फर्काइनेहरूमा ११ नेपाली रहेका छन्। ‘हामीलाई प्राप्त प्रारम्भिक सूचीअनुसार अमेरिकाले ११ जना नेपालीलाई चार्टर विमानमार्फत नेपाल फर्काउन लागेहो हो। यो संख्या थपघट पनि हुनसक्छ,’ नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले लिखुखबर लाई जानकारी दिए । झन्डै एक महिना अगाडि नेपालस्थित अमेरिकी दूतावासले निष्कासित भएका केही नेपालीलाई चार्टर जहाजबाट काठमाडौं ल्याउने तयारी भइरहेको गृह मन्त्रालयलाई जानकारी गराएको स्रोतले बतायो ।

अमेरिकाले पछिल्लो दुई महिनामा कम्तीमा २९ जना नेपालीलाई डीपोर्ट गरेको छ। जनवरी २० पछि उक्त संख्यामा बढोत्तरी भएको स्रोतको दाबी छ। अमेरिकाले अंग्रेजी महिना जनवरी र फेब्रुअरीमा गरी २९ जनालाई निष्कासन गरेको हो। ती नेपालीहरू विभिन्न एयरलायन्समार्फत नेपाल फर्काइएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय