१८ फागुन २०८१ , मोरङ ।
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले एमाले र एमालेको नेतृत्वबाट मात्रै मुलुकको अवस्था बदल्न सम्भव रहेको बताएका छन् । शनिबार एमाले मोरङको १० औं अधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरुबाट मुलुकको अवस्था नबद्लिने ठोकुवा गरेका हुन् ।

उनले एमालेमात्रै क्रान्तिकारी पार्टी रहेको र एमालेको नेतृत्वमा मात्रै मुलुकका सबै समस्याको समाधान सम्भव रहेको दाबी गरेका हुन । ‘यिनीहरू (कांग्रेस, माओवादीलगायत) ले मुलुकको आर्थिक असमानता र गरिबीको खाडल पूर्ण सक्दैनन् । एमालेको नेतृत्वमा मात्र यो सम्भव छ,’– बादलले भने ।

उनले माओवादीको नीति, विचार र नेतृत्वले नेपालको अवस्था बदल्न सक्ने पार्टी हो भन्ने कुरा पुष्टि नगर्ने बताए । थापाले माओवादी, कांग्रेसलगायतका दललाई अवसरवादी र अस्थिरतावादीको संज्ञा दिए । कांग्रेस, माओवादीलगायतका दलबाट नेपालमा समाजवाद स्थापना सम्भव नरहेको उनले दाबी गरे ।











