२३ माघ २०८१, पोखरा ।

अन्जन न्यौपाने 

नेपाली कांग्रेसका जिल्ला सभापति र उपसभापतिहरूको मंगलबार पोखरामा सुरु प्रशिक्षणमा आफूहरूलाई उपेक्षा गरिएको भन्दै केही पूर्वपदाधिकारीले आपत्ति जनाएका छन् । राष्ट्रियस्तरको भेला र कार्यक्रममा सिंगो केन्द्रीय कार्यसमिति उपस्थिति हुने परम्परा तोडेर केन्द्रीय पदाधिकारीले आफूखुसी कार्यक्रम आयोजना गर्दै दलका केही वरिष्ठ नेताहरूलाई समेत उपेक्षा गरिएको आरोप उनीहरूको छ ।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गरेको राष्ट्रियस्तरको उक्त प्रशिक्षण कार्यक्रममा कांग्रेस नेता शेखर कोइराला, पूर्वउपसभापति प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री शशांक कोइरालालगायतका नेताहरू उपस्थित छैनन् । उनीहरूलाई कार्यक्रममा नबोलाइएको जनाइएको छ  ।

१४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवासँगको प्रतिस्पर्धामा ४० प्रतिशत मत ल्याएका संस्थापन इतरपक्षका नेता शेखर कोइरालाले आफूलाई आमन्त्रण नगरिएको बताए । ‘जिल्ला सभापतिको राष्ट्रिय भेला गरियो तर मलाई कसैले जानकारी गराएन, आउनुपर्छ पनि भनेनन्,’ उनले भने, ‘नबोलाएको कार्यक्रममा जाने कुरै भएन ।’

शेखरनिकट केन्द्रीय सदस्यहरुले कांग्रेसभित्र ४० प्रतिशतको हिस्सा लिएका समूहको नेतालाई उपेक्षा गरिनुले राम्रो सन्देश नगएको बताए । ‘शेखर कोइरालालाई नबोलाएका हुन भने गलत भएको छ, यसले पार्टी संगठनलाई राम्रो गरेन । सिंगो पार्टीको कार्यक्रम बनाउन सक्नुपर्दथ्यो, त्यो भएको देखिएन, कोइराला निकट केन्द्रीय सदस्य हृदयराम थानीले भने, ‘पोखरामा जे कार्यक्रम गरियो, त्यसको स्वामित्व लिने कुरामा पनि समस्या आउन सक्छ ।’ यसअघि कोइरालले पनि कोशी प्रदेश स्तरीय आफ्नो गुटकोभेला गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय