१२ माघ २०८१, काठमाडौ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाबीच राप्रपाको जारी केन्द्रीय समितिको बैठकमा गम्भीर मतभेद देखिएको छ । राणाले पार्टी कार्यकर्ताका लागि प्रस्तुत गरेको ‘राजनीतिक विचार’ मा अध्यक्ष लिङ्देन महाधिवेशनले पारित गरेका निर्णय र विधानविपरीत चलेको, नीति र सिद्धान्तविपरीत माओवादीसँग सहकार्य गरी सरकारमा गएकाले पार्टी लोकप्रियतामा घट्दै गएको दाबी गरेका छन् ।

शुक्रबार सुरु भएको केन्द्रीय समिति बैठकमा राणाले लिखित रूपमै ६ पृष्ठ लामो लिखित विचार राखेका छन् । ‘महाधिवेशनको कार्यादेश, पार्टीको घोषित नीति र लक्ष्य कार्यान्वयनमा शिथिलता देखिएको छ । एकता महाधिवेशनको मर्म र भावनाअनुरूप पार्टीलाई एक ढिक्का राख्न नयाँ सक्रियता र सत्प्रयासको अभाव देखिएको छ,’ राणाले भनेका छन्, ‘संस्थागत अधिकार पार्टी समितिहरूमा सुरक्षित छ, विधानमा अध्यक्ष वा पदाधिकारीलाई एकलौटी अधिकार उपलब्ध छैन ।
पुरानै व्यवस्थामा जस्तो अध्यक्षात्मक प्रणालीको जानेर नजानेर चर्चा गरिन्छ जो महाधिवेशनको कार्यादेश, विधानको मर्म र भावना अनुकूल छैन ।’ उनले अध्यक्ष लिङ्देनबाट विधानको गलत व्याख्या भएको आरोप लगाएका छन् । अध्यक्षको सत्ता मोहका कारण सदन र सडक मोर्चा कमजोर भएको राणाको आरोप छ । महाधिवेशनको कार्यादेश हृदयंगम गर्दै राप्रपाको एकता, बृहत्तर हित, आन्तरिक प्रजातन्त्र र लक्ष्य प्राप्तिप्रतिको निष्ठा एवं इमान्दारीलाई मूलमन्त्र मानेर पार्टीलाई एकताबद्ध, विधिसम्मत अघि बढाउन कार्यकर्तामाझ छलफलका लिखित प्रस्ताव प्रस्तुत गरेको राणाले जनाएका छन् । उनले १६ बुँदामा अध्यक्ष लिङ्देनले चालेका कदमप्रति प्रश्न उठाउँदै आफ्ना धारणासमेत राखेका छन् ।
शनिबार बाट केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने छन् ।राप्रपाको यो केन्द्रीय बैठक लाई चासोका साथ हेरिएको छ । शनिबार नै बैठक समापन गर्ने भनिएपनि एकदिन थप लम्बिन सक्ने राप्रपा श्रोतले बताएको छ ।











