पौष १३, इटहरी सुनसरी । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरणको हतियारले अब ठुला दलका कोही नजोगिने बताएका छन् । राप्रपा कोशी प्रदेश समितिले शनिबार इटहरीमा आयोजना गरेको बृहत् विरोध सभामा अध्यक्ष लिङ्देनले रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलेको जिकिर गर्दै अब दाप बाहिर आइसकेको यो हतियार नरोकिने र रोक्न नहुने बताएका हुन्।

 

विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपालको सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने भन्दै सुरुमा आफू माथी छानबिन गर्न चुनौती दिदै छानबिनको लागि आफु तयार रहेको बताए । अहिलेको व्यवस्थाले भ्रष्टाचारलाई झन् झन् संरक्षण गरेको भन्दै उनले देशको लागि राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र अपरिहार्य रहेको कुरामा जोड दिए।

विरोध सभालाई सम्बोधन गर्दै राप्रपा निर्देशन समितिका अध्यक्ष डा.प्रकाश चन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व र कार्यशैलीका कारण प्रजातन्त्र खतरामा परेको बताए । उनले प्रजातान्त्रिक दलहरूको नाममा प्रजातन्त्र मास्ने काम भएको धारणा राखे । डा.लोहनीले केपी ओली, शेरबहादुर देउवा र प्रचण्डलाई कुनै भ्रष्टाचार गरेको छैन, नेपाल बाहिर कुनै पैसा राखेको छैन भनेर नेपालको संसद्मा उभिएर नेपाली जनतालाई भन्ने नैतिक हिम्मत नभएको बताए ।

सुनसरीको इटहरीमा आयोजित विरोध सभामा बोल्दै उनले जनताले दिएको विश्वास माथि घात भएको उल्लेख गरे । पूर्व अर्थमन्त्री समेत रहेका लोहनीले  किसानले समयमै मल बीउ पाएको भए वा उद्योगीले उद्योग बिस्तार गर्ने वातावरण पाएको भए राप्रपाले विरोध गर्नुपर्ने अवस्था नआउने स्पष्ट पारे । जनताले अहिले विकल्पको खोजी गरेको उनको दाबी रहेको छ ।

राप्रपाको विरोध सभा एउटा कार्यक्रम मात्रै नभएर अब भ्रष्टाचारीको दिनगन्ती सुरु भएको राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले उद्घोष गरेका छन् । राप्रपाले अब जनताको पक्षमा जस्तोसुकै कदम चाल्न तयार रहेको बताउँदै भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन, छानबिन गर्न दबाब दिनका, सहकारी पीडितहरूको बचत फिर्ता गराएरै छाड्ने बताए ।

विरोध सभामा सहभागी हुन पूर्व क्षेत्रका विभिन्न जिल्लाबाट नेता कार्यकर्ताहरू इटहरीमा भेला भएका छन् । भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन, छानबिन गर्न दबाब दिनका लागि विरोधसभाको आयोजना गरिएको राप्रपाले जनाएको छ ।

प्रदेश संरचना खारेजी, अधिकार सम्पन्न स्थानीय स्वायत्त शासन, राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र, सहकारी पीडितको रकम फिर्ता, भ्रष्टाचारीमाथि कारबाही, शिक्षा–स्वास्थ्य–रोजगारीमा समान पहुँच र भूमिहीन समस्या समाधान जस्ता विषयहरू राप्रपाले निरन्तर उठाउने महामन्त्रीद्वय राजेन्द्र गुरुङ, प्रह्लाद प्रसाद शाहले सम्बोधनका क्रममा जोड दिए ।

विरोध कार्यक्रमलाई निर्देशन समितिका सदस्य रामकुमार सुब्बा, कोशी प्रदेश अध्यक्ष रामकुमार थापा, केन्द्रीय सदस्य इनु अधिकारी, सुनसरी जिल्ला अध्यक्ष दुर्गाबहादुर बस्नेत  लगायतले सम्बोधन गरेका छन। भोलि प्रदेशको बिस्तारित बैठक समेत बस्ने र थप कार्यक्रम तय गरिने राप्रपाके जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय