पौष ७, काठमाडौं।
नेकपा (एमाले) का नेता तथा सांसद दयालबहादुर शाहीले नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘देशै कोल्याप्स गर्छु’ भनेर भारतको दानापानी खाएको गम्भीर आरोप लगाएका छन् । आइतबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमला सँगको कुराकानीमा उनले प्रचण्डले कांग्रेस र एमालेको गठबन्धन ढाल्न नसक्ने दाबी गरेका हुन् । सो क्रममा धमलाले ‘प्रचण्डले त जुनसुकै बेला कांग्रेस–एमालेको गठबन्धन ढाल्छु भन्नुभएको छ’ नि भनेर राखेको जिज्ञासामा नेता शाहीले भने–‘उहाँको त ढाल्ने, ढाल्नेमात्रै होईन देशै ढाल्न नोयडामा पहरा बसेर, म लेण्डुप दोर्जे हुन्छु, देश कोल्याप्स गर्छु, मलाई समर्थन देउ भनेर अटल विहारी बाजपेयीदेखि लिएर मनमोहन सिंहको पालासम्म दानापानी खानुभयो । अर्काको पैसा खाएपछि उठाउन आउँछन् हेर्नुहोस । किन जयशंकर नेपालको संविधान जारी गर्दा रोक भनेर नेपाल आए त ? किन आए भनी यी बाबुराम र प्रचण्डले खाएको असुल गर्न आउनुभएको हो । भन्दै गम्भीर आरोप लगाएका हुन।


एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली देश बनाउने भीजन भएको नेता र विकासवादी नेता भएकै कारणले कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्वमा काँध थापेको उनले स्पष्ट पारे । नेता शाहीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब एमालेको गठबन्धन त परैको कुरा सिन्कोपनि भाँच्न नसक्ने दाबी गरे । उनले भने,‘अब प्रचण्डले एमालेको गठबन्धन त के, उहाँले चाहीँ अब नेपालको राजनीतिमा सिन्कोपनि भाँच्न सक्नुहुन्न ।’
उनले प्रचण्डमाथि देश नै कोल्याप्स गर्न भारत गएको आरोप लगाए । उनले भने,‘हामीले चाहीँ देश कोल्याप्स गर्न गएका प्रचण्डलाई १२ बुँदे समझदारी गरेर इण्डियाको भाँडा माझ्दै गर्दा फर्काएर ल्याएका हौं ।’ भन्दै तल्लो तहको टिप्पणी गरे । नेपालको राजनीतिमा प्रचण्ड ‘कटप्पा’ भएको उनले आरोप लगाए । प्रचण्डले गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवादेखि केपी शर्मा ओलीसम्मलाई धोका दिएको भन्दै उनले अब प्रचण्डको दिन सकिएको हुँदा उनी छट्पटीनु स्वाभाविक भएको धारणा राखे ।











