मंसिर २०, बुटवल।
बुटवलको सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयमा नमुना अदालत अभ्यास कार्यक्रम सम्पन्न भएको छ। कक्षा ८ का विद्यार्थीहरूको सहभागितामा आयोजित कार्यक्रममा अभियुक्त, वादी, प्रतिवादी, पक्ष-विपक्षलगायतका कानुनी प्रक्रियामा आधारित चर्को बहस गरिएको थियो।

विद्यार्थीहरूले गाली बेइज्जती, अपमानजनक व्यवहार, चरित्र हत्या, बालअधिकार, र लैङ्गिक हिंसा जस्ता विषयमा पक्ष र विपक्षमा तर्क-वितर्क प्रस्तुत गर्दै अदालतको वास्तविक कार्यशैलीलाई दुरुस्त उतार्ने प्रयत्न गरेका छन । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर आयोजित यो बहसमा विद्यालय तहमा हुने लैङ्गिक हिंसाका घटनाहरू, कानुनी उपचारका उपायहरू, र दण्ड सजायका विषयमा समेत विद्यार्थी वकिलहरूले निर्णय सुनाएका थिए।

४५ जना विद्यार्थीहरूको सहभागिता रहेको यस कार्यक्रममा बालअधिकारका मुद्दाहरूलाई विशेष प्राथमिकता दिइएको थियो। साथै, सामाजिक सञ्जालको दुरुपयोग र त्यसले पार्ने असरबारे पनि व्यापक बहस गरिएको थियो।












