कात्तिक २५, काठमाडौ।
राष्ट्रपति रामचन्द्र पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिदाइ गरे । यसअघि नेपाली सेनाको एक टुकडीले राष्ट्रपति पौडेलको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो ।राष्ट्रपतिको बिदाइका लागि उपप्रधानमन्त्री, मन्त्री, सांसद, नेपाल सरकारका उच्च पदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुख र नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरू विमानस्थल पुगेका थिए ।
अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल बाकु प्रस्थान गरेका हुन । पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालले बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने कार्यतालिका रहेको छ । ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उक्त बैठकमा नेपालले आफ्ना ‘एजेन्डा’माथि विश्वको ध्यानाकर्षण गराउने प्रयास गर्ने छ ।












