असोज २४, नयाँ दिल्ली , भारत ।
भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको छ । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको पुष्टि गरेका छन् । टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । उनले ९ अक्टोबर २०२४ मा अन्तिम श्वास फेरे । भारत सरकारले रतन टाटालाई पद्मविभूषणबाट सम्मानित समेत गरेको थियो ।

उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए । राति करिब २ बजे उनको शव अस्पतालबाट घर ल्याइएको थियो । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताएका छन्।
टाटाको पार्थिव शरीरलाई बिहीबार बिहान १० बजेदेखि ४ बजेसम्म दक्षिण मुम्बईको नेशनल सेन्टर फर पर्फर्मिङ आर्ट्सको हलमा राखिने उनका आफन्तले बताएका छन् । यहाँ मानिसहरूले उनलाई अन्तिम श्रद्धाञ्जली दिन पाउने छन्।

उनको निधनमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत देशका धेरै दिग्गजहरुले दुःख व्यक्त गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले ट्वीटरमा रतन टाटाको निधनले भारतले कर्पोरेट वृद्धिलाई राष्ट्र निर्माण र उत्कृष्टतालाई नैतिकतासँग जोड्ने प्रतीक गुमाएको लेखेकी छिन ।
प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेका छन्, ‘रतन टाटा एक दूरदर्शी व्यापारी नेता र एक असाधारण व्यक्ति थिए। उनले भारतको प्रतिष्ठित औद्योगिक घरानालाई स्थायी नेतृत्व दिएका थिए ।कांग्रेस नेता राहुल गान्धीले रतन टाटालाई श्रद्धाञ्जली अर्पण गर्दै ट्वीटरमा लेखेका छन्, ‘रतन टाटाको दर्शन थियो। उनले व्यापार र परोपकारको क्षेत्रमा आफ्नो छाप छोडेका छन्।












