राजेन्द्र बस्नेत,
असोज २१, काठमाडौ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले दशैंको फूलपातीका दिन काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने भएको छ ।
नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार २४ असोजका दिन न्यारोबडी जहाजबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न लागिएको हो ।
काठमाडौंबाट बाहिर जाने यात्रुको चापलाई ध्यानमा राख्दै प्रतिव्यक्ति एकतर्फी ७ हजार रुपैयाँ भाडा यो रुटमा उडान गर्ने यात्रुले तिर्नुपर्ने नेपाल एयरलाइन्सले जनाएको छ ।
आरए १७३३ उडान नम्बर रहेको जहाज बिहान ११ बजे काठमाडौंबाट उड्ने भएको छ । यस उडानमा ३० किलोसम्म लगेज नि:शुल्क बोक्ने समेत पौडेलले जानकारी दिए ।

सोही जहाज १२ः३० बजे भैरहवाबाट काठमाडौं उड्ने छ । जसको भाडा ३ हजार ८९० राखिएको छ । यस उडानका लागि निगमको कार्यालय, वेबसाइट र आफ्नो मोबाइलबाटै अनलाइन टिकट समेत लिन सकिने नेवानिले बताएको छ । यो १५८ सिटे जहाज हो । पर्याप्त जहाज नहुदा थला बसेको निगमले विपद्वमा सधैं सरकारले भनेको निर्देशन पालना गर्दै जनताको दु:खको साथी बन्दै आइरहेको पनि स्पष्ट गरेको छ ।











