असोज २१, काठमाडौ ।

मंसिर १६ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले २५ दल दर्ता गरेको छ । समयसीमाभित्र २६ दलको निवेदन प्राप्त भएपनि कानुनी रीत पूरा भएका २५ दललाई निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी नियमावलीको नियम १७ (४) बमोजिम दर्ता गरेको प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए  । ३९ पदका लागि आयोगले उपनिर्वाचन प्रयोजनका लागि भन्दै दल दर्ता गर्न असोज १० देखि १६ गतेसम्मको समय  दिएको थियो ।

आयोगका अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, जसपा नेपाल, जनमत, नागरिक उन्मुक्ति, नेमकिपा, आम जनता पार्टी दर्ता भएका छन् । यसैगरी, राप्रपा नेपाल, नेकपा माले, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च, बहुजन एकता पार्टी नेपाल, समावेशी समाजवादी पार्टी नेपाल, हाम्रो नेपाली पार्टी, नेसनल रिपब्लिक नेपाल, राजपा नेपाल, नेपाली कांग्रेस (बिपी), राष्ट्रिय मातृभूमि पार्टी र नेपाली जनता दल दर्ता भएका छन् ।

दर्ता भएका दलले मंसिर-२ मा उम्मेदवारी दर्ता गराउनेछन् । २ मंसिरको बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने आयोगको कार्यतालिका भनिएको छ ।  मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । आयोगका अनुसार जिल्ला समन्वय समिति प्रमुख-२ , नगरपालिकाका मेयर-१  र उपमेयर -१ गाउँपालिका अध्यक्ष -२ , गाउँपालिका उपाध्यक्ष-३ र  वडाध्यक्ष-३० जना गरि जम्मा ३९ पदका लागि उपनिर्वाचन हुँदै छ ।

०७९ को स्थानीय तह निर्वाचनमा भाग नलिएको संसद्को चौथो ठूलो दल रास्वपा यसपटकको उपनिर्वाचनमा भने भाग लिँदै छ । उपनिर्वाचनमा सहभागी हुन दल दर्ता गरेको रास्वपाले उम्मेदवारीको मोडल तय गर्न अध्ययन भइरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय