भाद्र २७, २०८१ काठमाडौ ।
नेपालमा उत्पादन गरिएको तरकारी बिहीबारदेखि कतारमा निर्यात गर्न सुरु गरिएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपालको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार किलो तरकारी कतार पठाइएको दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेतले जानकारी दिए ।

उनले भने, ‘त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई तरकारी हस्तान्तरण गरेका छौँ ।
यसैगरी कृषि विभागका महानिर्देशक डा नरहरीप्रशाद घिमिरेले नेपालबाट कतारका लागि तरकारी निर्यात हुनु निकै खुसीको कुरा भएको बताए । ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत दक्षिणकालीमा तरकारीखेती गरिएको थियो । त्यहाँका किसानले उत्पादन गरेका तरकारी निर्यातसँगै यसले मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने र किसानलाई प्रोत्साहन हुने विश्वास लिइएको छ ।
तरकारी उत्पादनका लागि ग्रामीण विकासका लागि चाइना फाउन्डेसनले किसानलाई विशेष तालिमका साथै आवश्यक कृषि सामग्रीसमेत उपलब्ध गराएको थियो । कतारमा नेपाली ताजा तरकारी निर्यात समारोहमा चीनको प्राविधिक तथा आर्थिक सहयोगमा नेपालको कृषि विकासमा महत्वपूर्ण पहल भएको बताइएको छ ।

चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टको कृषि प्रवर्द्धन कार्यक्रमद्वारा समर्थित किसानले खेती गरेका विभिन्न बाली समावेश भएका जनाइएको छ । आज कतार पठाइएका तरकारीमा रातो चेरी मिर्च खुर्सानी (अकबरे), फ्ल्याट बीन्स र करेला लगायतका रहेका छन् । दक्षिणकाली नगरपालिकाका स्थानीय किसानले खेती गरेका उत्पादनले ताजापन र गुणस्तर सुनिश्चित गर्दै कतारको बजारमा मनपर्ने नेपालका लागि कतारी राजदूत अन्सारीले बताए । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट (सिएफआरडि) नेपालको कार्यालय चीनबाट सफल ग्रामीण विकास अभ्यासलाई नेपाली समुदायमा हस्तान्तरण गर्न अग्रपङ्क्तिमा रहेको छ ।
नेपाली समुदायभित्र जीवनस्तर उकास्ने मुख्य लक्ष्यका साथ सिएफआरडिले सुरुमा प्लम्बिङ र इलेक्ट्रीशियनको व्यावसायिक तालिममार्फत सीप विकासमा ध्यान केन्द्रित गरेको जनाइएको थियो । यसैगरी २०२३ मा उक्त फाउन्डेसनले काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकामा बेमौसमी तरकारी उत्पादनमा विशेष तालिम प्रदान गरेर दिगो विकासलाई प्रवद्र्धन गर्न सहयोग गरेको आजको कार्यक्रममा जानकारी दिइएको थियो । रासस











