भाद्र २७, २०८१ काठमाडौं ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक १०० वटा गाउँपालिकाहरुमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारी खटाएको छ । बिहीबार एकैपटक १०० जना शाखा अधिकृतहरुको पदस्थापन गर्दै सरकारले जिम्मेवारी तोकेको हो ।

देशभर १२३ गाउँपालिकाहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेकोमा अब २३ वटा मात्रै गाउँपालिकामा पदपूर्ति हुन बाँकी छ । मन्त्रालय स्रोतका अनुसार पदस्थापन भएकाहरु सबै लोकसेवा आयोगबाट अधिकृतको परीक्षा पास गरेर हालै प्रशासनिक प्रशिक्षण पूरा गरेकाहरु छन ।
१३ भदौमा एकैदिन १०६ जना शाखा अधिकृतहरु स्टाफ कलेजबाट दीक्षित भएका थिए । त्यसमध्ये ३ जनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन भएको छ भने ३ जना महिला कर्मचारीहरुको स्वास्थ्य समस्याका कारण पदस्थापनको निर्णय भएको छैन ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका तृतीय श्रेणीका नवनियुक्त अधिकृतको आधारभूत प्रशासन प्रशिक्षणपछि १३ भदौमा दीक्षान्त समारोह आयोजना गरेको थियो ।उनीहरुलाई प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेकामध्ये आफूलाई पाएक पर्ने र इच्छा भएको गाउँपालिका रोज्न दिइएको थियो । त्यसकै आधारमा सरुवाको निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले स्थानीय तहहरुलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलाउने अवस्था अन्त्य गर्ने बताउँदै आएका थिए । रिक्त स्थानमा प्रमुख प्रशासकीय अधिकृत खटाउँदा गाउँपालिकाहरुमा सेवा प्रवाह र सुशासनको अवस्था सुध्रने मन्त्रालयले अपेक्षा गरेको छ । मन्त्रालयले हालै ५२ वटा जिल्ला समन्वय समितिमा इन्जिनियरहरुको पनि पदस्थापन गरेको छ । संविधान र कानुनले जिल्ला समन्वय समितिहरुलाई अनुगमनको अधिकार दिएपनि इन्जिनियरहरु नहुँदा समस्या भोग्दै आएका थिए ।
लोकसेवा आयोगबाट भर्ना भएका ५५ नयाँ इन्जिनियरमध्ये ५२ जनालाई मन्त्रालयले जिल्ला समन्वय समितिहरुमा खटाएको हो ।











