भाद्र २६, २०८१ काठमाडौ ।

बिश्व हिन्दु महासंघले नेपाल लाई हिन्दुराज्य घोषणा गर्न आगामी शुक्रबार दबाबमुलक र्यालीको आयोजना गर्ने भएको छ । महासंघले आज पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो ।

महासंघले शुक्रबार १ बजे माइतिघर मण्डला देखि बानेश्वर सम्म पैदल हिडेर प्रदर्शन गर्ने जनाएको छ । विश्व हिन्दु महासंघकि अध्यक्ष अस्मिता भण्डारीले ठुला दलहरुले सनातन हिन्दुराज्यको पहिचान समाप्त बनाएर धर्मान्तरनको डढेलो सल्काएको आरोप लगाइन ।

उनले ९४ प्रतिशत ॐकार बसोबास गर्ने देशलाई हिन्दुराज्यको पहिचान दिनपर्ने बताउदै शुक्रबारको प्रदर्शनमा उपस्थित हुन सबैलाई आग्रह समेत गरिन । राप्रपाका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा. धवल शम्शेर राणाले सनातन हिन्दुराष्ट्र र राजसंस्थको स्थापना आफुहरुको प्रमुख एजेन्डा भएकोले त्यो माग गरेर सडकमा आउने सबैसँग सहकार्य र एकता हुने धारणा व्यक्त गरे ।

महामन्त्री राणाले जनताका मागहरु कहिलेकाही सदन र सरकार बाट पूरा नभएपनी सडक बाट हुने गरेको भन्दै विश्व हिन्दु महासंघको गतिविधिमा राप्रपाको सहयोग रहने भन्दै अब सडक आन्दोलनको विकल्प नरहेको स्पष्ट पारे ।

पत्रकारहरुले अध्यक्ष भण्डारी लाई बिश्व हिन्दु महासंघ राप्रपाको भातृ संगठन भनेको हो ? बिश्व हिन्दु महासंघको आन्दोलनमा किन आफ्नै पदाधिकारीहरु आउदैनन? विश्व हिन्दु महासंघ लाई मागी खाने भाडो बनाएको हो? हिन्दुराज्यको माग गर्दा अन्य समूह , पार्टी र व्यक्तिहरु किन आउने वातावरण नबनाएको जस्ता प्रश्नले घेरेका छन । पत्रकारको प्रश्न जवाफ दिदा निकै आक्रामक बनेकी भण्डारीले देशमा हिन्दुराज्य र राजसंस्थाको माग गर्ने पार्टी राप्रपा मात्र भएको , राप्रपाले संसद र सडकमा आएर माग गरेको हुँदा एजेन्डा मिलेपछि सहकार्य गरेको बताइन ।

भोलि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो गल्ती भएछ अब हिन्दुराज्यको लागि हामी साथमा छौं भने माओवादी सगपनी सहकार्य हुने भण्डारीले स्पष्ट पारिन । यो आन्दोलन शान्तिपूर्ण र दबाबमुलक हुने भन्दै उनले सरकारले माग पूरा नगर्दा सम्म खबरदारी जारी राख्ने जानकारी दिइन ।












