सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे खोलामा शुक्रबार आएको लेदो सहितको बाढी हिमताल फुटेर आएको पुष्टि भएको छ । रक्षामन्त्री मानवीर राई नेतृत्वको टोलीले हेलिकप्टरमार्फत गरेको निरिक्षणका क्रममा थामेभन्दा माथि रहेका ५ हिमतालमध्ये २ ताल फुटेको पुष्टि भएको हो ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका अनुसार ५ तालमध्ये २ ताल फुटेको पुष्टि भएको हो। अन्य २ ताल पनि फुट्ने जोखिममा रहेको कार्यालयले जनाएको छ।

एउटा हिमताल भने सुरक्षित देखिएको छ। प्रशासन कार्यालयले जोखिम कायमै रहेकोले थामे खोला आसपास उच्च सतर्कता अपनाउन निर्देशन गरि सकिएको बताएको छ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार बाढीले खुम्बु पासाङल्हामु-५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो। बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ।

बाढीले खुम्बु पासाङल्हामु-३ फाक्दिङदेखि नाम्चे – थामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ। उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी बताए।

रक्षामन्त्री नेतृत्वको टोलिमा प्रदेशसभा सदस्य , सोलुखुम्बुका प्रजिअ , सोलुखुम्बु प्रहरी प्रमुख र खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष रहेका थिए । बाढी पीडित १५ जनालाई गाउँपालिकाले तत्कालका लागि जनही  ५० हजारका दरले राहत उपलब्ध गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय