साउन ३२, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको माथिल्लो भुुुभाग खुम्बु पासाङ ल्हामु गाउँपालिका वडानम्बर -५ थामे गाउँमा आएको भीषण बाढी बारे चासो राखेका छन् । उनले सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) देवी पाण्डे खत्रीलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएका हुन् । बस्तीको बीचबाट खोला पस्दा १२ वटा घर, एक स्कुल र स्वास्थ्य चौकीमा क्षति भएको प्रजिअ खत्रीले प्रधानमन्त्री लाई जानकारी गराइन् ।

हिमपहिरो आएको वा हिमताल फुटेर बाढी आएको हो भन्ने यकिन भइनसकेको उनले बताइन् । दिउँसो मौसम प्रतिकुल भएकोले हेलिकप्टर समेत जान सक्ने अवस्था नभएको प्रजिअ पाण्डेले जानकारी दिइन् । तल्लो थामेमा आएको बाढीबाट प्रभावित भएकाहरुलाई उपल्लो थामेमा भएका होटल तथा घरमा राखिएको प्रभावित क्षेत्रमा सेना र प्रहरीको टोलिले उद्दारको काम गरेको उनले बताइन ।

फोन सम्वादका क्रममा प्रधानमन्त्री ओलीले सुख्खा पहिरो नभएको बताए । माटोभन्दा सगै पानी पनि धेरै देखिएकाले सुख्खा पहिरो हुननसक्ने उनले अनुमान गरे । उनले भने, त्यहाँ मानवीय क्षति हुन नपाओस् भन्नेमा ध्यान दिनुस् मानव जीवन अमुल्य छ कुनै कुरा सग तुलना हुदैन । धनमालको क्षति भइहाल्यो, सरकारले केही गर्छ । आत्तिनु पर्दैन । मौसम खराब नभए भोलि रक्षामन्त्री मानबिर राई सहितको टोलि राहत सामाग्री सहित प्रभावित स्थलमा जाने भएको छ । यस अघि खुम्बु पासाङ ल्हामु गाउँपालिकाले १४ घरमा क्षति भएको जनाएको थियो ।












