साउन ११,२०८१ काठमाडौ ।
कोशी सरकारको नेतृत्व आलोपालो गर्न र मन्त्रालयहरूको भागबन्डा टुंग्याउन नेपाली कांग्रेस र नेकपा (एमाले)बीच औपचारिक छलफल सुरू हुने जानकारी पाएपछि माओवादी केन्द्र प्रदेश सरकार बाट बाहिरिने निर्णयमा पुगेको छ ।


प्रदेश सरकारका वन तथा पर्यटनमन्त्री नारायण बुर्जा मगरले मुख्यमन्त्रीले अब बाटो खुला गरिदिनूस् भनेपछि सरकारमा बस्न नैतिकताले नदिने भन्दै दलको बैठकले आवश्यक निर्णय लिने बताए ।
मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारमा मगरसहित माओवादीका तीन मन्त्री र एक जना राज्यमन्त्री छन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि पनि माओवादीले कोशी सरकार छाडेको थिएन । माओवादीले कोशी सरकार छाड्ने निर्णय लिएपछि कांग्रेसको प्रदेश सरकार प्रवेशको बाटो खुलेको छ ।
?
सत्ता गठबन्धनका नयाँ सहयात्रीहरू कांग्रेस र एमालेबीच कोशीको मुख्यमन्त्रीमा आलोपालोको समयसीमा तोक्न, मन्त्रालय र संवैधानिक नियुक्तिहरूको भागबन्डा लगाउन शुक्रबार काठमाडौंमा छलफल सुरु हुँदैछ।
शीर्ष नेताहरुको तहबाट मुख्यमन्त्री पदमा आलोपालोबारे टुंगो लगाउने निर्देशन पाइसकेका दुवै दलले केन्द्रीय नेतृत्वकै उपस्थितिमा यसलाई औपचारिकता दिने बताएका छन्। यही छलफल टुंग्याउन मुख्यमन्त्री हिक्मतकुमार कार्की शुक्रबार काठमाडौं जाँदैछन् ।












