श्रावण २, २०८१ काठमाडौं ।
नेपाल वायुसेवा निगमले जहाज खरिद बापतको किस्ता रकम ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ असार मसान्तमा भुक्तानी गरेको छ

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर अन्तर्राष्ट्रिय उडान गर्न भन्दै २ न्यारोबडी र २ वाइडबडी जहाज खरिद गरेको थियो । वायुसेवा निगमका अनुसार ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८१ असार महिनाको किस्ता बापत पुरै र वाइडबडी जहाजको आंशिक गरी असार मसान्तमा उक्त रकम भुक्तानी गरिएको हो । पछिल्लो समय निगमको नेतृत्व र व्यवस्थापनमा भएको परिवर्तनले निगममा सुधारको संकेत देखिन थालेको हो ।

चुस्तदुरुस्त सेवा प्रणाली , कर्मचारीको सहि व्यवस्थापनगर्दा २०८१ असारसम्म ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको निगम श्रोतले जनाएको छ । कोरोना महामारीका कारण थलिएको निगमको व्यापार अवधिको ब्याजको हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन दुवै कोषसँग निगमले अनुरोध समेत गरेको थियो ।
किस्ता संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तनीलाई सहजीकरण गरिदिन समेत निगमले दुवै कोषलाई पत्र मार्फत अनुरोध समेत पठाएको थियो । यस सम्बन्धमा आवश्यक छलफल भइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

वायुसेवा निगमले अस्ट्रेलिया सिधा उडान गर्ने प्रयास लाई तिव्र रुपले अगाडि बढाएको छ ।












