नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा( २) अनुसार नै बन्ने बताएका छन्। संविधानको कुन धाराअनुसार सरकार बन्छ भन्ने अलमलमा नपर्न पनि उनले सबैलाई आग्रह गरे।


मिडियाहरूमा आइरहेको छ, संविधानको धारा ७६ को २ अनुसार सरकार हुन्छ कि ३ अनुसार भन्ने। म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु, यसमा अलमल हुने कुरा छैन, अब बन्ने सरकार ७६ (२) कै सरकार हुन्छ। जोरपाटीमा मंगलबार भएको खगेन्द्र नवजीवन विशेष विद्यालयको छात्रवृत्ति वितरण कार्यक्रममा सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन्।
संविधानको धारा ७६ को उपधारा २ मा दुई वा दुईभन्दा बढी दलहरू मिलेर सरकार बन्ने व्यवस्था छ भने उपधारा ३ मा संसदको ठूलो दलको संसदीय दलको नेताको नेतृत्वमा सरकार बन्ने स्पष्ट व्यवस्था रहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को दल नेकपा (माओवादी केन्द्र) का सांसदहरूले ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका दाहालले संसदबाट विश्वासको मत प्राप्त गर्न नसके उपधारा ३ अनुसार सरकार गठन हुने दाबी गरिरहेका छन् तर सर्वोच्च अदालतका नजिरले सम्भव भएसम्म उपधारा (२)अनुसार सरकार बनाउन बाधा नपुग्ने भनिसकेको छ।

कोइरालाले आफूले धारा ७६ (३) को सरकार नखोजेको पनि बताएका छन्। आफूले बोलेका कुराहरूलाई बङ्ग्याइएको उनको दाबी गरे । कोइरालाले भने, मैले केही कुरा गरेको थिएँ। त्यसलाई बङ्ग्याएर शेखर त ७६ (३) को सरकार खोजिराखेको हो कि भन्ने आभास तपाईंहरूलाई पनि हुनेगरी समाचार जुन सत्य होइन उनले भने , मैले सात/आठ महिनादेखि भनिरहेको थिएँ, स्थिरता दिनुपर्छ तर कसैले विश्वास गरिरहेको थिएन।
अब कांग्रेस र एमालेले ७६( २ ) अनुसारकै सरकार बनाउने हो । राजनीतिक स्थायित्व दिदै सुशासन र संविधानमा भएका कमीकमजोरीलाई सुधारेर अघि बढछ उनले धारणा व्यक्त गरे ।













