काठमाण्डौ ।
काग्रेस-एमालेले राजनीतिक स्थिरता दिने उद्घोषसहित सरकारदेखि संविधान संशोधनसम्मका प्याकेजमा सहमति गरेपछि अहिले त्यसको प्रत्यक्ष प्रभाव प्रदेश सरकारमा पनि देखिन सुरु भएको छ ।


मुलुकका दुई ठूला दलबीचको समझदारीको मसी सुक्न नपाउँदै प्रदेशमा नयाँ सरकारको हतारो सुरू भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल राजीनामा नदिई विश्वासको मत लिने अडानका कारण नयाँ गठबन्धनको सरकार बन्न अझै केही समय लाग्ने देखिएको छ तर सरकार फेरबदलको कसरतले संघमा पानी पर्दा प्रदेशहरूमा छाता ओढ्ने पुरानै रोगले संघीयताप्रतिको वितृष्णालाई थपबल पुगेको छ ।

माओवादी र एकीकृत समाजवादीले सरकारको नेतृत्व गरिरहेका प्रदेशहरूमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई राजीनामा गराएको छ । एमाले र कांग्रेसले नेतृत्व गरेका ठाउँमा भने देखिने गरी सरकार पुनर्गठन सुरु भएको छैन ।
एमालेको मुख्यमन्त्री रहेको कोशी प्रदेश र कर्णालीमा सरकार परिवर्तनको स्पष्ट सङ्केत देखिएको छैन ।कांग्रेस र एमालेबीच ३/३ प्रदेशको मुख्यमन्त्री लिने सहमति भएको छ ।
जसअनुसार नेकपा एमालेले कोशी, कर्णाली र लुम्बिनीको नेतृत्व गर्नेछ । गण्डकी, बागमती र सुदूरपश्चिममा कांग्रेसले नेतृत्व गर्ने सहमति छ । मधेशमा भने मधेशवादी दललाई नै नेतृत्व दिने सहमति केन्द्रमा बनेको छ ।











