कोशी प्रदेशको बजेटमा एकलौटी योजना हालेको भन्दै नेपाली कांग्रेस र राप्रपाका सांसदहरु कोशी प्रदेशसभाको बैठकबाट उठेर हिँडेका छन् ।आर्थिक वर्ष २०८१÷८२ को बजेटमा मन्त्रीहरूले एकलौटी तरिकाले योजना हालेको उनीहरूले आरोप लगाए । आज आर्थिक विधेयकका विषयमा छलफल गर्ने कार्यसूची थियो । बैठक सुरू भएलगत्तै दुवै दलका सांसदहरूले उठेर विरोध जनाए । प्रतिपक्षीको विरोधपछि सभामुख अम्बर बहादुर विष्टले कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङलाई बोल्न समय दिएका थिए ।

तामाङले नीति तथा कार्यक्रम बनाउँदासमेत आफूहरूसँग छलफल नगरिएको गुनासो सुनाए । नाराहरू राम्रा भए पनि बजेट एकलौटी भएको उनको टिप्पणी छ ।

रातो किताबमा भएको विनियोजनलाई देख्दा मन कुँडिएको भन्दै उनले बजेट हेर्दा प्रदेशसभा सदस्य समेत भन्न लाज लाग्ने अवस्था आएको आरोप लगाए।

राप्रपाकी प्रदेशसभा सदस्य सविना बजगाइँले रातो किताबमा ४ भाइको मात्रै योजना हालेको आरोप लगाइन् । उनले मन्त्रीहरूले बजेट आफ्नो पैतृक सम्पत्ति बाँडफाँट गरेको जसरी योजना हालेको भन्दै सभा बहिष्कार गरेको बताइन। बजेट संशोधन नगरे पारित हुन नदिने उनले स्पष्ट पारिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय