काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका छन्।
राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले स्वागत गरे।

त्यस अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो।
राष्ट्रपति पौडेलको स्वागतका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि उपस्थित थिए।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जेनेभामा आयोजना गरेको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय बैठकमा सहभागी हुन राष्ट्रपति पौडेल गत जेठ २९ गते त्यसतर्फ प्रस्थान गरेका थिए। उक्त सम्मेलनमा सहभागी भई उनी असार १ गते सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणमा गएका थिए।
राष्ट्रपति पौडेलको भ्रमण टोलीका साथ प्रथम महिला सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा. सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू लगायत सहभागी थिए।











