शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मंगलबार आफ्नो १०० दिनको कार्यकालमा भए गरेका कामकारबाहीको प्रगति विवरण सार्वजनिक गरेकी छन् ।मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले शिक्षक सरुवासम्बन्धी निर्देशिका जारी गरी अन्तर जिल्ला सरुवा फुकुवा गरिएको, शिक्षा नियमावली (दशौँ संशोधन) २०५९ लाई कानुन मन्त्रालयमा रायका लागि पठाएको, शिक्षकको दरबन्दी मिलानका लागि अध्ययन सुरु गरिएको जानकारी दिइन् । यस्तै विद्यालय शिक्षा सुधारका लागि नीतिगत पहल गर्नेदेखि समग्र मन्त्रालयकै सुधारका लागि पहल थालेको दाबी गरिन् । पत्रकार सम्मेलनमा उनले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गर्ने कार्यको थालनी भएको बताइन् । मन्त्री श्रेष्ठले शिक्षकले कुनैपनि राजनीतिक दलको सदस्यता लिन नपाउने र राजनीति गर्न नपाउने एजेण्डा लागू गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरिन् । शिक्षामा दलीय राजनीतिकरण हुन नहुने अन्तिम साससम्म नछोड्ने एजेण्डा भएको उनले स्पष्ट पारिन ।
उनले यो क्षेत्रमा अहिलेसम्म भएको कार्यप्रगति चित्तबुझ्दो नभए पनि सुरुवात भएको उल्लेख गर्दै सरकारले मात्रै गर्ने भन्दा पनि सबैको सहयोगको आवश्यकता रहेको बताइन् । उनले सबैको साथ सहयोग भए मात्रै आफ्ना एजेण्डाले सार्थकता पाउन सक्ने धारणा व्यक्त गरिन ।












