काठमाडौं ।

विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा एमालेले बहुमत निवर्तमान सांसद्को हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा संयुक्त रूपमा रिट निवेदन दिने तिव्र तयारी गरेका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि एमालेले संस्थागत रूपमा र कांग्रेसका ८ निवर्तमान सांसदले व्यक्तिगत रूपमा रिट दिइसकेकाले त्यो रिटलाई थप बलियो बनाउन बहुमत हस्ताक्षर सहित पूरक रिट दिने तयारीमा दुई दलका निवर्तमान सांसदहरू जुटेका हुन् । यो काम एमालेले संस्थागत रूपमै अघि बढाएको छ भने कांग्रेसका निवर्तमान सांसदहरूले व्यक्तिगत रूपमा गरिरहेका छन् ।

कांग्रेसले संस्थागत रूपमा प्रतिनिधिसभा पुनर्स्थापनाको निर्णय नगरेकाले उक्त पार्टीका निवर्तमान सांसदहरू व्यक्तिगत रूपमा सर्वोच्च गएका छन् । यसअघि दुई दलले दायर गरेका छुट्टाछुट्टै रिटलाई नै बल पुर्‍याउने गरी बहुमत निवर्तमान सांसदको हस्ताक्षर जुटाएर फेरि संयुक्त रूपमा पूरक निवेदन दिन दुवै दलले आ–आफ्नै पार्टीमा हस्ताक्षर जुटाउन सुरु गरिसकेका हुन् ।

नेपाली कांग्रेसका विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आफूहरू हस्ताक्षर संकलनमा जुटेको पुष्टि गरे । २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका ७५ र कांग्रेसका ६५ तत्कालीन सांसदको हस्ताक्षर गराएर बुहमत पुर्‍याउने दुई दलको तयारी छ । बहुमतका लागि १३८ सांसद चाहिनेमा १४० सांसदको हस्ताक्षर बुझाउने तयारी उनीहरूको छ ।

घिमिरेले शुक्रबारसम्म ४५ भन्दाबढी सांसदको हस्ताक्षर संकलन भइसकेको र आइतबारसम्म ६५ सांसदको हस्ताक्षर पु¥याएर सर्वोच्चमा एमालेसँग मिलेर पूरक रिट दिइने बताए । ‘४५ भन्दा बढी निवर्तमान सांसदहरूले हस्ताक्षर गरिसक्नुभएको छ । आइतबारसम्म हाम्रो भागमा परेको ६५ जनाको हस्ताक्षर पु¥याएर सर्वोच्चमा पूरक रिट दिन्छौँ,’ घिमिरेले भने, ‘बहुमत सांसदले नै पुनर्स्थापनाको पक्षमा संयुक्त रिट दिएर अदालत लाई सहज बनाउने तयारी हो ।’

एमालेका निवर्तमान प्रमुख सचेतक बर्तौलाले पनि आफूहरूको भागमा परेको हस्ताक्षर संकलन गरेर अदालतमा रिट बेलैमा बुझाइसकेको र फेरि संयुक्त रूपमा पूरक रिट पनि दिइने जानकारी दिए । उनले कांग्रेससंग संयुक्त रूपमा बहुमत निवर्तमान सांसद्को हस्ताक्षरसहित पूरक रिट दिँदैछौँ । कांग्रेसका साथीहरूले हस्ताक्षर संकलन गरिरहनु भएको छ । उहाँहरूले ६५ जनाको हस्ताक्षर पुर्‍याएपछि पूरक रिट दर्ता गर्छौँ,’ बर्तौलाले भने, ‘बहुमत जुटाएर नै पुनर्स्थापनाको माग गर्दै अदालत पुग्ने हाम्रो तयारी हो ।’

यसअघि एमालेका प्रमुख सचेतक बर्तौला र सचेतक सुनिता बरालले पार्टी संसदीय दलबाट संस्थागत निर्णय गरी दलका नेता केपी शर्मा ओलीको अख्तियारीसहित मंसिर १० गते सर्वोच्चमा रिट दर्ता गरेका थिए । कांग्रेसका प्रमुख सचेतक घिमिरे, सचेतक सुशीला थिङसहित सांसदहरू आशा बिक, दीपक खड्का, सिताकुमारी राना, नागिना यादव, शान्ति बिक र जाबेदा खातुन जागाले पनि मंसिर २३ मा रिट दायर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय