२४ श्रावण २०८२, रसुवा।
जनैपूर्णिमाको पावन अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा शनिबार हजारौं भक्तजनहरुले स्नान गरेका छन् । पवित्र कुण्डमा स्नान तथा पूजाआजा गरी धार्मिक लाभ प्राप्त गर्न नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, धादिङ, धनुषा, मकवानपुर, कास्की, स्याङ्जा, तनहुँ, गोरखा, भोजपुर, रामेछाप, सप्तरीलगायत विभिन्न जिल्लाका भक्तजन एवं स्थानीयस्तरका बासिन्दाले बिहानदेखि नै स्नान तथा पूजा आराधना गरेका हुन ।


समुद्र सतहदेखि चार हजार तीन सय ८० मिटर उचाइमा अवस्थित पौराणिक एवम् धार्मिक पवित्र कुण्डमा डुबुल्की मारेपछि उकालो हिँड्दा लागेको थकान समाप्त भई आनन्दको अनुभूति हुने जनविश्वास छ । प्रतिकूल मौसमका कारण काठमाडौंबाट हेलिकप्टरमा जाने हवाई यात्रु भने प्रभावित भएका छन् ।
जनैपूर्णिमाको अवसरमा गोसाईकुण्ड पुगेका भक्तजनहरुको सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिनुका साथै सेनाले स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ।












