बिराटनगर मोरङ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले देश र कम्युनिस्ट आन्दोलन दुबैलाई गम्भीर क्षति पुगेको आरोप लगाएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले ओलीको दम्भ, अहंकार, र गलत नीतिका कारण देश पीडित भएको बताए। ‘सरकार पूर्ण रूपमा असफल भएको छ। ओलीलाई बिदा नगरेसम्म यो पीडाबाट मुक्ति मिल्दैन,’ उनले भने।
उनका अनुसार केपी ओली र शेरबहादुर देउवाबीचको मिलोमतोका कारण सरकार परिवर्तनको संभावना पनि टाढिएको छ। एमालेभित्र उत्पन्न विवादलाई इंगित गर्दै उनले भने, ‘ओलीको नेतृत्वले कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने दिशामा छ।’ आफूमाथि लागेको भ्रष्टाचार मुद्दा राजनीतिक पूर्वाग्रहको उपज मात्रै भएको अध्यक्ष नेपालको दाबी छ। उनले स्पष्ट रूपमा भने, ‘मेरो मुद्दा भ्रष्टाचारसँग सम्बन्धित छैन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयअनुसार भएको काम हो। नेपाल सरकारलाई कुनै नोक्सान भएको छैन, मैले एक पैसा तलमाथि गरेको छैन।’ पार्टी एकताको सन्दर्भमा अध्यक्ष नेपालले नेकपा माओवादी केन्द्रसँग तत्काल कुनै एकीकरण प्रक्रिया नभएको जनाए। हाल सहकार्यको कुरा मात्र भएको र समाजवादी मोर्चालाई निरन्तरता दिने विषयमा छलफल भइरहेको उनको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय