योगिन राई ।
पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठक पक्राउ परेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले संविधानविपरीतका गतिविधि गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले जानकारी दिए । ‘ पूर्वराजा शाहको सम्वाद सचिवालयले श्री ५ महाराजधिराज जस्ता शब्दहरू प्रयोग गर्दै आइरहेको छ , जुन नेपालको संविधानविपरीत हो । त्यसैले उहाँ (पाठक) लाई यसबारेमा के कसो हो सोधपुछका लागि नियन्त्रणमा लिएका हौं,’ एसपी बोहराले भने ।पूर्वराजा शाहका नाममा उनको सचिवालयले जारी गर्ने गरेका लिखित सूचना, जानकारी तथा सन्देशहरूमा श्री ५ महाराजधिराज शब्द प्रयोग हुँदै आएका छन भनी त्यसमा पाठकको नाम समाबेश हुँदै आएको थियो ।












