१६ वैशाख २०८२, काठमाडौ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्युटावर औचित्यहीन रहेको बताउँदै संरचना भत्काउनुपर्ने पक्षमा आफू रहेको बताएकी छन् । मेयर बालेन्द्र शाहले टावर भत्काउने तयारी गर्दै गर्दा उपमेयर डंगोलले पनि टावरको उद्देश्य र प्रयोग बाझिएको भन्दै यसले जनता झुक्याएको स्पष्ट पारिन् ।

पत्रकारहरूसँगको कुराकानीमा उनले भनिन्, “जनताका नाममा लिइएको हो भने त्यही प्रयोजनमा प्रयोग हुनुपर्छ, ढाँट्न मिल्दैन।” डंगोलले महानगरले व्यापारिक उद्देश्यका लागि सटर बनाएर व्यवसाय गर्नु आवश्यक नभएको बताउँदै सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखिन् । उनले ठमेलको छायाँ सेन्टर र होटल हिल्टन जस्ता ठुला संरचनाहरूको पनि गम्भीर अध्ययन गरेर निर्णय लिनुपर्नेमा जोड दिइन् । पोखरीमा संरचना बनाउनु ठीक होइन, त्यो भत्काएर पुरानै स्वरूपमा फर्काउनु पर्छ,” उपमेयर डंगोलले भनिन् । उनका अनुसार सम्पदा जोगाउन सके, त्यो दीर्घकालीन अमूल्य सम्पत्ति हुने र त्यसले समाजलाई नै जीवन्त बनाउनेछ ।











