१६ वैशाख २०८२, काठमाडौँ ।
आफूहरूको मागका सम्बन्धमा सरकारसँग हालसम्म भएका वार्ता सकारात्मक नबनेको शिक्षकहरूले बताएका छन् । उनीहरुले तत्काल सहमति नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन् । आज बिहान बसेको नेपाल शिक्षक महासंघको बैठकमा शिक्षक नेताहरूले सरकार आफूहरुको माग र मुद्दाप्रति गम्भीर नदेखिएको भन्दै आन्दोलन थप चर्काउनुपर्ने पक्षमा उभिनु परेको बताएका छन।

सोही अनुसार आन्दोलनलाई थप सशक्त बनाएर माग सम्बोधनका लागि दबाब दिनेगरी निर्णय भएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले बताए । माग सम्बोधनका लागि सरकारी पक्ष गम्भीर नदेखिएको भन्दै उनले आन्दोलनलाई थप सशक्त बनाइने बताए । वार्ता खासै उपलब्धिमूलक नभएपछि आन्दोलनलाई नै सशक्त बनाएर लैजाने भन्ने रहेको उनको भनाइ थियो ।
यसअघि नै महासंघको तर्फबाट ९ बुँदे मागहरू शिक्षा मन्त्रालय र मन्त्रिपरिषद्बाट समाधान गर्नुपर्ने भन्दै पेस गरेको थियो । ती ९ बुँदे मागहरू पुरा गर्नका लागि १३ अर्बको बजेट चाहिने शिक्षकहरूको भनाइ छ तर सरकारको तर्फबाट भने शिक्षकका सबै माग सम्बोधन गर्न थप ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान रहेको छ । शिक्षा मन्त्रालयका एक अधिकारीका अनुसार सबै मागहरू सम्बोधन गर्नका लागि थप ६५ अर्ब रुपैयाँ लाग्नेछ । यसरी २८ औं दिनसम्म पुग्दा पनि सहमति हुने छाँट नदेखिएपछि यो वर्षको कक्षा १२ को परीक्षा, एसईईको नतिजा विद्यार्थी भर्ना अभियान पुरै प्रभावित हुने भएको छ।











