चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी थप एक व्यक्ति पक्राउ परेका छन् । सन्तोष राजावादी भनेर चिनिने सन्तोष कुमार सिलवाललाई नेपाल प्रहरीको सीआईबी टोलीले गएराति कोटेश्वरको महादेवस्थानबाट पक्रेको हो ।


३४ वर्षीय सिलवाललाई राति नै जिल्ला प्रहरी परिसरको जिम्मा लगाइएको छ । चैत्र १५ गते तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनमा उनी पनि सहभागी भएको र निषेधित क्षेत्र तोड्न उक्साएको प्रहरीको आरोप छ ।राजावादीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको थियो । लामो समय देखि बेपत्ता रहेका सिलवालको खोजी गर्न सामाजिक संजालमा उनका समर्थकहरूले अनुरोध गरेका थिए। तर सिलवाल आफैं पत्रकार सम्मेलन गर्दै सार्वजनिक भएका थिए। १५ गतेको हिंसात्मक आन्दोलनमा भएको आगजनी र प्रहरीको गोली प्रहारबाट एक पत्रकार सहित २ जनाको मृत्यु भएको थियो ।











