११ चैत्र २०८१, सोलुखुम्बु ।

कुल बहादुर बस्नेत ,

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले ठुलो संघर्ष गरेर कमाएको उपलब्धि भएको बताएका छन्। उनले शासनमा बसेर गल्ती गर्नेलाई दण्डित गर्ने अधिकार यो व्यवस्थाले नागरिकलाई दिएको उल्लेख गरे। सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्‌घाटन समारोहमा बोल्दै उनले यो व्यवस्थामा जनता सार्वभौमसत्ताको मालिक भएको बताए।

उनले भने, ‘शासन व्यवस्थालाई बलियो बनाउन र यो व्यवस्थाले नै जनताको भविष्य सुनिश्चित गर्छ भन्ने अनुभव गराउन सरकार, राजनीतिक दल र सबैको जिम्मेवारी छ।’ उनले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको धारणा राखे । नेपाली जनताले संविधानबाहिरको निरंकुशता वा अराजकता स्वीकार गर्न नसक्ने स्पष्ट पारे । पौडेलले अगाडि भने ‘इतिहासले देखाउँछ, १०४ वर्षको राणा शासन होस्, ३० वर्षको पञ्चायत होस् वा सक्रिय राजतन्त्र, जनताले कुनै पनि निरंकुशतन्त्र रुचाएनन्। संघीय लोकतान्त्रिक गणतन्त्र हामीले सजिलै पाएका होइनौँ। यो हजारौंको त्याग, संघर्ष र बलिदानको फल हो।’

राष्ट्रपति पौडेलले सभामुख हुँदापनि सोलुखुम्बु आएको बताउदै पूर्वी पहाडका डाँडाकाँडामा पैदल हिँडेर जनतासँग भेटेको स्मरण गरे । उनले टिम्बुरबोटेको ओडारमा रुझ्दै, भिज्दै पुगेको भावुकता सुनाए । टिम्बुरबोटे २०४१ मा पञ्चायती सरकारले प्रजातान्त्रिक योद्धाहरूको हत्या गरेको स्थान समेत हो ।  उनले युवाहरू विदेश पलायन हुने समस्या रोक्न शिक्षा, स्वास्थ्य, उद्योग, उत्पादन वृद्धि, रोजगारी र गाउँमै आम्दानीको व्यवस्था गर्न जनता केन्द्रित नीति र बजेट चाहिने धारणा राखे ।

विगतका गल्तीबाट सिकेर समृद्ध राष्ट्र बनाउन सबैलाई लाग्नुपर्ने कुरामा उनले जोड दिए ।  ‘हिजो नुन र तेलका लागि भारी बोकेर हिँड्नुपर्थ्यो, आज त्यो अवस्था बहुदलीय लोकतन्त्रले हटायो। यो परिवर्तन हामीले बिर्सनुहुँदैन पौडेलले भने । देशमा गणतन्त्र कि राजतन्त्र भन्ने बहस र धुर्विकरण चलिरहेको समयमा पौडेल सोलुखुम्बु पुगेका हुन ।  प्रशासनिक भवन उदघाटन समारोहमा बोल्दै पुर्व पर्यटनमन्त्री समेत रहेका काङ्ग्रेस नेता बल बहादुर केसीले जनताले सोचे अनुसारको काम तिनै तहका सरकारले गर्न नसकेको स्पष्ट पारे । उनले अहिले पनि जनताको असन्तुष्टि छ बिरोध छ त्यसलाई समाधान गर्नुको विकल्प नरहेको भन्दै यसतर्फ सबै गम्भीर हुनुपर्नेमा जोड दिए ।

सोलुखुम्बुका संघीय साम्सद एवं रक्षामन्त्री मानबिर राईले संविधान बिरोधि गतिविधि गरेर कुनै निकास ननिस्कने भन्दै यो संविधानले जनता लाई सार्वभौम बनाएको धारणा राखे । बिकास निर्माणका कामहरू सुस्त हुन नहुने कुरामा जोड दिएका राईले सोलुखुम्बुमा प्रधानमन्त्री , उपराष्टपति र राष्ट्रपतिको भ्रमण हुँदा जिल्लाको महत्व बढेको धारणा व्यक्त गरे ।

भवन उदघाटन समारोहमा नेचासल्यान गाउँपालिकाले पुर्व माननीय , प्रदेश सदस्य, , जिल्ला स्थित राजनितिक दलका प्रमुखहरु, जिल्लाका अन्य स्थानिय तहका प्रमुख, जिल्ला समन्वय समिती प्रमुख, प्रशासन कार्यालयका प्रमुख  जिल्ला प्रहरी, सेना, सशस्त्रका प्रमुखहरू , वडाअध्यक्षहरु , बिधालयका प्रअ लगायत विभिन्न संघसंस्थाका प्रमुखहरु लाई कार्यक्रममा आमन्त्रण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय