१८ फागुन २०८१, बुटवल।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले सांसद किनेर अध्यादेश पारित गराउने तयारी थालेको आरोप लगाएका छन् । शनिबार बुटवलमा आयोजित पार्टीको लुम्बिनी प्रदेश स्तरीय आमसभा लाई सम्बोधन गर्दै उनले अध्यादेशबाट शासन गर्न खोज्ने सरकारको प्रयास असफल हुने देखिएपछि सांसद किन्ने तयारी भइरहेको आरोप लगाएका हुन् ।


उनले वर्तमान व्यवस्था काम नलाग्ने सावित भइसकेको दाबी गरे । अध्यक्ष लिङ्देनले वर्तमान सरकार बनेको सात महिनामा कुनै पनि उपलब्धीमूलक काम नभएको बताए । उनले प्रतिनिधि सभाको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बन्दा पनि जनतामा कुनै आशा जगाउने खालको काम हुन नसकेको भन्दै सरकार असफल भएको स्पष्ट पारे ।
सरकारलाई समर्थन गरेको दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सरकारले सांसदहरु किन्ने प्रयास गरिरहेको आरोप लगाएका थिए । जसपा नेपालकी सांसद रेखा यादवले सरकारले ५ देखि १० करोडको अफर गरेको आरोप लगाएकी थिईन् ।











