१९ माघ २०८१ ।
अन्जन न्यौपाने,

दलित र ब्राह्मणले संयुक्त रुपमा पूजा आराधना गर्ने बैतडी जिल्लाको गुजर बनारसीधाममा माघ शुक्ल प्रतिपदादेखि दशमीसम्म बाइसताल स्नान मेला लाग्ने भएको छ । माघ १७ गतेदेखि सुरु भएको मेला २५ गतेसम्म लाग्ने बनारसीधाम विश्वनाथ सेवा समाजका कोषाध्यक्ष गणेशप्रसाद पन्तले बताए । मेला लाई आवश्यक साथ र सहयोग जुटाउन सङ्घीय राजधानी काठमाडौँ आइपुगेका उनले चारसय वर्षअघिदेखि दलित र ब्राह्मणले पूजा आराधना गरी समावेशिताको उत्कृष्ट नमूना प्रदर्शन गर्दै आएको जानकारी दिए ।
चारसय वर्षअघि मैनावती कोटका राजा मानुक चन्दले यो मन्दिरमा दलित र ब्राह्मणले संयुक्त रुपमा पूजा आराधना गर्ने परम्परा बसालेका थिए । बनारसीधाममा हाल बाह्मण समुदायका पन्त र दलित समुदायका लोहारले पूजा आराधना गर्दै आएका छन् । यहाँका ब्राह्मणले दलितलाई कुनै छुवाछुत नगर्ने संस्कृतिको विकास भएको छ । ब्राह्मण पुरोहितले दलितका घरमा गएर कर्मकाण्डलगायत कर्मसमेत गर्ने गरेको पन्त बताउँछन् । ब्राह्मण समुदायका घरमा दलित समुदायले निर्वाध रुपमा प्रवेशसमेत पाउने गरेका छन् । चारसय वर्ष अघिदेखिको अभ्यासले यो गाउँमा कुनै छुवाछुत र भेद्भाव नभएको स्थानीयवासीको अनुभव छ । पाटन नगरपालिका वडा नं ३ मा पर्ने बनारसीधामलाई धार्मिक, सांस्कृतिक पर्यटकीयस्थलका रुपमा विकास गर्न पनि मेलाले सहयोग गर्ने समाजका अध्यक्ष उत्तरबहादुर चन्द बताउँछन् । मेलालाई भव्य रुपमा सम्पन्न गराउन समाज लागिपरेको छ । मेलाका बेला बनारसीधाममा कुनै छुवाछुत एवं भेद्भाव नभएको सन्देश दिने खालका कार्यक्रम पनि आयोजना गरिने उनीहरूको तयारी रहेको छ ।











