१७ माघ २०८१, काठमाडौं ।

विपक्षी दलको बैठकमा विपक्षी दलकै नेताहरुबीच गरमागर्मी बहस चलेको छ । बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको विषय उठाएपछि बैठकमा चर्काचर्की भएको छ । बिहिबारको बैठकमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले आफ्ना सभापति लमिछानेलाई सरकारले प्रतिशोध साँधेर सहकारी ठगीमा मुद्दा चलाएको, सांसद पदबाट निलम्बन गर्न सम्पत्ति शुद्धीकरण लगायतका मुद्दा लगाएको कुरा उठाएका थिए ।

उनले शुक्रबार बाट सुरु हुने संसद्को हिउँदे अधिवेशनमा विपक्षी दलको तर्फबाट रविको विषय जोडदार रुपमा उठाउनुपर्ने प्रस्ताव गरेका थिए । रविलाई जोगाउने प्रस्ताव रास्वपाले गरेपछि बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आक्रोशित भएका छन् । उनले रविलाई जोगाउने रास्वपाको प्रस्ताव विपक्षी दलले मान्ने हो भने संघीयता खारेजीको प्रस्ताव जनमोर्चाले राख्दै आएको र त्यो प्रस्ताव सबैले मान्नुपर्ने बताए । ‘लोकतन्त्रमा कालो बादल मडारिन लागेको भएर हामीले विपक्षी मोर्चालाई समर्थन गरेको हो ।

विपक्षी मोर्चाले कसैको एजेन्डा बोक्ने कुरा हुँदैन,’ केसीले बैठकमा भने, ‘जुन औंलामा विष लाग्छ, त्यही औंला काटिन्छ । रविको मुद्दा उठाउने हो भने संघीयता खारेजीको जनमोर्चाको मुद्दा उठाउन राजी हो भन्दै प्रश्न गरे । विपक्षी दलको मोर्चामा भएपनि जनमोर्चा रास्वपाको विरोधमा उत्रिने दल हो । सहकारी ठगीमा लामिछाने जोडिएको विषयमा जनमोर्चाले पहिले देखिनै सदनमा आवाज उठाउँदै आएको छ । रविमाथि कारबाहीको माग गर्दै आएका केसीकै अगाडि रास्वपाले रवि जोगाउने प्रस्ताव गरेपछि उनी रिसले आगो भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय