४ माघ २०८१ काठमाडौं ।
प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले शुक्रबार गृहमन्त्री रमेश लेखकसँग छलफल गर्दैछ । दिउँसो साढे १२ बजे बस्ने बैठकमा राष्ट्रिय परिचयपत्रको विषयमा छलफलका लागि गृहमन्त्रीलाई समितिले बोलाएको हो । बिहीबार बसेको समितिको बैठकले शुक्रबार गृहमन्त्री लेखकलाई छलफल गर्न बोलाउने निर्णय गरेको थियो । राष्ट्रिय परिचयपत्रको नाममा नागरिकले पाएको सास्तीका विषयमा केन्द्रित रहेर गृहमन्त्रीसँग छलफल हुने समितिले जनाएको छ ।

सरकारले सामाजिक सुरक्षा भत्ता, बैंक खाता खोल्ने लगायतका क्षेत्रमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि आफूहरु समस्यामा परेको जनगुनासो आएको विषयमा समितिले छलफल गर्न लागेको हो । २०८१ जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले ८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।











