२ माघ २०८१, काठमाण्डौ।
सरकार प्रमुख बाट एकैपटक गत असार ३० मा प्रतिपक्षी बेन्चमा पुगेको नेकपा माओवादी केन्द्रले सत्ता फर्काउने कसरत जारी राखेको छ। संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सातबुँदे सहमतिको जगमा बनेको वर्तमान केपी ओली नेतृत्वको सरकारको आयुमाथि प्रश्न खडा गर्दै सरकार गिराउने कसरतलाई माओवादीले सशक्त बनाउने उपायको खोजि नै रहेको छ ।

सोही योजनाअन्तर्गत पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आयुको मापन गर्दै अभिव्यक्तिहरू दिँदै आएका छन। संसद्मा रहेको आफ्नो ३२ सिटलाई सरकार निर्माणको ‘म्याजिक नम्बर’ भएको दाबी गर्ने दाहालको सत्ताबाहिरको विगत ६ महिना निकै सकसपूर्ण अवस्थामा बितेको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।
एकातिर आफूलाई सत्ता नचाहिएको भन्ने र अर्कोतिर कुनै हालतमा सरकार भत्काउने र आफू सत्तामा पुग्ने दोहोरो चरित्रलाई निरन्तर प्रदर्शन गर्दै आएका दाहालले मंगलबार ओली नेतृत्वको सरकारको आयु लामो नभएको जिकिर गरे।

रिफ्रेसका लागि सिन्धुपाल्चोकको सुकुटेबिच पुगेका दाहालले सरकारले अलोकप्रिय काम गरिरहेको दाबी गर्दै ‘अहिले जसरी सरकार चलिहरेको छ, त्यसले पनि सरकारको आयु झन् छोट्याइरहेको छ। अप्राकृतिक, अलोकतान्त्रिक र असंवैधानिक भनिसकेपछि त्यो सरकार रहिराखोस् भन्ने हाम्रो चाहना, हाम्रो उद्देश्य हैन हुँदैन।’ त्यसैले सरकार आफ्नै कारणले ढल्छ।











