१ माघ २०८१, रामेछाप।
रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिकाकाे अन्तिम तथा उत्तरी मानव बस्ती वडा नं १ समुन्द्री सतहदेखि झण्डै २७५० मिटरको उचाईमा रहेको ल्हाछेवर स्थित श्री हिमालय आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी गाउँपालिका तथा वडाकाे सहयोगमा विद्यार्थीहरूलाई विद्यालयमै बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म डे बाेर्डसमा राखी अध्ययन अध्यापन गर्ने कार्यका लागि छात्रवासको उद्घाटन गरिएको छ ।

विद्यालय व्यवस्थान समितिका अध्यक्ष ग्युर्मे शेर्पाकाे अध्यक्षतामा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयाेजक सावित्री सुनुवारकाे प्रमुख आतिथ्यतामा १ नं वडाका वडा अध्यक्ष तथा वडा शिक्षा समितिकाे संयाेजक ङवातिनडी शेर्पा, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख वासुदेव मश्राङ्गी, १ नं वडा अन्तर्गतका सबै विद्यालयका प्रधानाध्यापकहरू, वि.व्य. स तथा शिक्षक अभिवावक संघका पदाधिकारीहरू, रामेछाप जिल्ला पत्रकार महासंघका सहसचिव रामचन्द्र विक, शिक्षाप्रेमी, बुद्धिजीवी, अभिभावक, विद्यार्थीहरूकाे मंगलबार माघ १ गते सम्पन्न भएको छ ।
यस कार्यक्रम अन्तर्गत विद्यालयमा कार्यरत शिक्षकहरूलाई आवासीय रूपमा बस्ने व्यवस्था मिलाइएको छ भने बालबालिकालाई निःशुल्क खाने व्यवस्था गाउँपालिकाले गरेको छ । विद्यालयमा इन्टरनेट तथा विद्युत जडान, कम्प्युटर, प्रिन्टर र बालबालिकालाई चिसाेबाट बचाउन हिटरकाे समेत व्यवस्था गरिएकाे छ ।

साेही कार्यक्रममा विद्यालयमा बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्ने घाेषणा समेत गरिएकाे छ । यस कार्यक्रमका अवसरमा १ नं वडाका वडा अध्यक्ष तथा वडा शिक्षा समितिका संयाेजक श्री ङवातिण्डु शेर्पाकाे अध्यक्षतामा गाउँपालिका उपाध्यक्षकाे प्रमुख आतिथ्यमा १ नं वडा अन्तर्गतका विद्यालयका प्रधानाध्यापककाे वडास्तरीय बैठक ऐतिहासिक रूपमा पहिलो पटक नुम्बुर हिमालकाे काखमा बसी विविध विषयमा छलफल तथा अन्तरक्रिया गरि १ नं वडा भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाकाे सिकाई सुधारका लागि महत्वपूर्ण निर्णय समेत गरिएको छ ।
विकट स्थानमा भएर पनि महत्त्वपूर्ण र ऐतिहासिक कार्य सम्पन्न गर्नका लागि अमुल्य साथ सहयोग पुर्याएको भन्दै विद्यालयका प्रधानाध्यापक पाेटराज घिमिरे, शिक्षक, अभिभावक लगायत सम्पूर्ण सराेकारवालाहरू प्रति उमाकुण्ड गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आगामी दिनमा पनि सहयोग, समन्वय र सहकार्य निरन्तर हुने प्रतिवद्दता सहित आभार व्यक्त गरेको छ ।











