पौष २९, सोलुखुम्बु
हिमाली जिल्ला सोलुखुम्बुमा अत्यधिक चिसो बढेसँगै जिल्लाका ९३ वटा सामुदायिक विद्यालयहरु बन्द गरिएको छ । चिसोले गर्दा पठनपाठनमा समस्या भएपछि सात स्थानीय तहले जाडोको बिदा दिएका हुन् । गत मंसिरदेखि विद्यालयहरु क्रमिक रूपमा बन्द हुन थालेको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुले जनाएको छ । हिमाली जिल्ला सोलुखुम्बुमा २ सय ८९ वटा सामुदायिक विद्यालय रहेका छन् ।


तीमध्ये ९३ विद्यालयहरुमा अहिले पठनपाठन बन्द गरिएको हो । आठ स्थानीय तहहरुमध्ये सोताङ गाउँपालिकाबाहेक सबै स्थानीय तहले जाडोको बिदा दिएको जनाइएको छ ।सोलुखुम्बुको माथिल्लो क्षेत्रको तापक्रम माइनस २० डिग्रीसेल्सियससम्म पुगेको छ भने सल्लेरी क्षेत्रमा पनि तापक्रम माइनसमा झरेको हावापानी मापन केन्द्र सल्लेरीले जनाएको छ ।उच्च हिमाली क्षेत्रमा मंसिर दोस्रो साताबाट नै पानी जम्न थालेपछि जाडो बिदा दिइएको बताइएको छ । यतिबेला खुम्जुङलगायत क्षेत्रका बासिन्दासमेत जाडो छल्न अन्यत्र गएपछि त्यस क्षेत्र सुनसान बनेको छ ।











